३५ अंकले बढ्यो नेप्से, हाइड्रोपावर र फाइनान्स समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार उकालो लागेको छ । सोमबार २०.४६ अंकले घटेको बजार आज भने उचारचढावका बीच १.३३ प्रतिशतले बढेर बन्द भएको हो ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २३९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँमा किनबेच भएको छ ।
यस दिन बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा, र व्यापार समूह बाहेक अन्य सूचक हरियाली भएका छन् । यस दिन हाइड्रोपावर र फाइनान्स सेक्टर चम्किएका छन् । यी समूहको सेयर मूल्य झन्डै ६ प्रतिशतले बढेको छ ।
१८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको सेयर मूल्य घटेको छ ।