३४.२९ अंक बढ्यो सेयर बजार, २३ अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार सामान्य करेक्सन देखिएको सेयर बजार बुधबार पुन: उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३४.२९ अंक बढेको छ ।
योसँगै नेप्से २९५७.७५ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार अवधिभर ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच भएको छ ।
कुल १३ उपसूचक मध्ये १० वटा सूचकमा हरियाली छाएको छ भने ३ वटाको सेयर मूल्य घटेको छ । आज बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.७०प्रतिशत, म्युचुअल फण्ड ०.१९ प्रतिशत र जीवन बीमा ०.०८ प्रतिशत घटेको छ ।
यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशतले बढेको छ ।
मञ्जुश्री फाइनानसको ९.८, थ्रीस्टार हाइड्रोपावरको ९.८ तथा बेस्ट फाइनान्सको मूल्य ८.५ प्रतिशत बढ्यो । त्यस्तै मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भयो । शिवम् सिमेन्ट, अपी पावर, नेपाल फाइनान्स तथा सानिमा माइ हाइड्रोपावर पनि सर्वाधिक कारोबार गर्नेको लिस्टमा छन् ।