सूचीकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको ताकेता : एक महिनाको म्याद, कसले कति तिर्नुपर्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीहरुले अब एक महिनाभित्र शुल्क बुझाउनुपर्ने छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था बमोजिम चालु आर्थिक वर्ष २०८१-८२ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन ताकेता गरेको हो ।
कम्पनीहरुले नविकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको छ । तोकिएको समयमा नविकरण शुल्क नबुझाएमा शुल्को वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सले जनाएको छ । यसका साथै धितोपत्र सूचीकरण विनियमाली १६ अनुसार सूचीकरण स्थगन गर्ने सकिने चेतवानी समेत दिएको छ ।
नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेले वार्षिक ५० हजार र ५०करोड भन्दा माथि चुक्ता पुँजी हुनेले १ लाख रुपैयाँ बुझाउनु पर्नेछ ।
यस्तै, डिबेन्चर–म्युचुअल फन्ड(सामूहिक लगानी कोषको) वार्षिक नविकरण शुल्क भने २५ देखि ५० हजारसम्म तोकिएको छ । ५० हजारसम्म चुक्ता पुँजी हुने डिबेन्चर–म्युचुअल फन्ड(सामूहिक लगानी कोषका) ले वार्षिक २५ हजार र ५० करोड भन्दा माथि हुनेले ५० हजार रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्ने छ ।
कम्पनीहरुले नेप्सेको ग्लोबल आइएमई बैंक कमलादी शाखामा रहेको खाता ०७५०१०१००००७७५ मा रकम बुझाउनुपर्ने छ । खातामा रकम जम्मा गरेको बैंक भौचर [email protected] मा पठाउन पर्ने नेप्सेले जनाएको छ।