आज दशैंको टिका : उत्तम साइत ११:३६ बजे

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
टिकाको साइत बिहान ११ः३६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बिहान ८ः ३३ बजे देवी विसर्जन गरी ११ः३३ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
दशैँ दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैँको नामले परिचित गरिएको भन्ने बुझिन्छ । घटस्थापनाको दिनमा विभिन्न थरीको विउविजनहरु उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशैं दिनमा ग्रहण गरिने हुनाले पनि दशैंलाई खास महत्वपूर्ण चाडको रुपमा लिइन्छ ।
दशैँ दिनमा घरपरिवार आफन्तजनहरुसँगै बसी टिका र जमराका साथसाथै आर्शीवाद आदानप्रदान गर्ने चलन छ । दशैँ दिनमा लगाउन शुरु गरिएको टिका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहा जानको लागि मौका मिल्नेछ । दशैँ परापूर्वक कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् साँस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरु पनि जोडिएको छ ।
राम र रावणको युद्ध, देवी र महिषासुर आदिसँग जोडिएको पाइन्छ । दशैँमा महालक्ष्मी, सरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैँलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।दशैँमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएतापनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखरता प्रदान गरेको अनुभूति दिलाउँछ ।
आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैँको नाममा ‘दशा’ भित्रन सक्छ ।नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन ।
घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालारई प्रस्ट पार्दछ ।