सूचीकृत ९१ मध्ये ९ वटा जलविद्युत कम्पनीले घोषणा गरे लाभांश, कसले कति दिने भए बोनस र नगद ?

काठमाडौं । यो वर्षका लागि लाभांश सिजन सुरु भईसकेको छ । विभिन्न कम्पनीहरुले हैसियतअनुसार आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
ती मध्ये जलविद्युत समूह तर्फ भने ९ वटा कम्पनीहरुले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भने ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । ती मध्ये आधा दर्जन बढी कम्पनीहरुले मात्रै यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
हालसम्म माण्डु हाइड्रोपावर, अरुण भ्याली, मन्दाकिनी, सुपर मादी, सुपर माइ, साहस उर्जा, भगवती हाइड्रोपावर, रुरु जलविद्युत परियोजना र अपि पावरले लाभांश घोषणा गरेका हुन् ।
यी मध्ये केही कम्पनीले भने साधारण बोलाएर लाभांश गरिसकेका छन् । गत आइतबार मात्रै साहस उर्जाले लाभांश गरेको छ । यो वर्षका लागि कम्पनीले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांशलाई कम्पनीलाई वितरणयोग्य बनाइसकेको छ ।
सुपर मादी हाइड्रोपावरको लाभांश पनि सोमबार (कात्तिक ५ गते) सम्पन्न साधारण सभाले पारित गरेको छ । कम्पनीले यो वर्षका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । यस्तै, भगवत हाइड्रोपावरको लाभांश पनि गत असोज १६ गते सम्पनन वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीले यो वर्षका लागि ४ प्रतिशत बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । यता, माण्डु हाइड्रोपावरले पनि यो वर्ष १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव गत असोज १४ गतेको वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
यस्तै, रुरु जलविद्युत परियोजनाले पनि यो वर्षका लागि १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न आगामी कात्तिक ११ गते साधारण सभा बोलाएको छ ।
यता, अपि पावरले पनि यो वर्ष आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक ११ गते साधारण सभा बोलाएको छ । त्यसैगरि अरुण भ्याली हाइड्रोपावरले यो वर्ष ३ प्रतिशत बोनस र कर प्रयोजनका ०.१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक १४ गते साधारण सभा बोलाएको छ ।
यो वर्ष मन्दाकिनी हाइड्रोपावर कम्पनीले पनि आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर ७ गते साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने भएको छ ।
यता, सुपर माइ हाइड्रोपावरले यो गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छैनन् ।