इभि आयात बढेको बढ्यै: तीन महिनामै नेपाल भित्रिए २५ सय बढी गाडी, कहाँबाट कति आयो ? « Arthapath.com
२२ असार २०८२, आईतबार

इभि आयात बढेको बढ्यै: तीन महिनामै नेपाल भित्रिए २५ सय बढी गाडी, कहाँबाट कति आयो ?



काठमाडौं । तीन महिनामै २५ सय बढी विद्युतीय सवारी (कार, जीप, भ्यान) आयात भएका छन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१-८२ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउनदेखि असोज मसान्तसम्ममा ६ अर्ब १२ करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ५२० वटा विद्युतीय सवारी (इभि) आयात भएका छन् ।

असोजमा मात्रै ९१८ वटा इभि आयात भएको विभागले जनाएको छ । यस्तै, गत भदौमा १ हजार २२१ र साउनमा ३८१ वटा आयात भएका थिए ।

नेपालबाट चीन, भारत, अमेरिका, जर्मन लगायतका मुलुकबाट इभि आयात हुने गरेको छ । हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, टाटा, एमजी, महिन्द्रा, जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।

नेपालमा ५० देखि ३०० किलोवाट क्षमता इभि आयात हुने गरेका छन् । विभागका अनुसार तीन महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका १ हजार ५८२ वटा इभि आयात गरिएको छ ।

यस्तै, ५० किलोवाटका ७७२ वटा, १०१ देखि २०० किलोवाटका १५९ र २०१ देखि ३०० किलोवाटका ७ वटा इभि आयात भएका छन् ।

नेपालमा सबैभन्दा धेरै चीनबाट आयात हुने गरेको छ । कुल इभि आयातमा चीनको हिस्सा ७०.११ प्रतिशत छ । चालु आवको तीन महिनामा चीनबाट विभिन्न क्षमतका १ हजार ७६७ वटा इभि नेपाल भित्रिएका छन् । चीनबाट कुल ४ अर्ब ७१ करोड ९ लाख रुपैयाँ बराबरको इभि आयात भएको हुन् ।

यस्तै, भारतबाट १ अर्ब ३७ करोड २५ लाख रुपैयाँ बराबरको ७४७ वटा, जर्मनीबाट ५ वटा र अमेरिकाबाट एक थान इभि आयात भएको विभागले जनाएको छ ।

इभि आयातबाट सरकारले तीन महिनामा कुल ३ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । असोज महिनामा मात्रै १ अर्ब ४४ करोड २१ लाख १२ हजार राजश्व उठेको विभागले जनाएको छ।

यस्तै, भदौमा १ अर्ब ७९ करोड ३ लाख ७७ हजार र गत साउनमा ४२ करोड १८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्