अरुण काबेलीले कमायो ८ करोड नाफा, तीन महिनामै बेच्यो साढे २१ करोडको बिजुली
काठमाडौं । अरुण काबेली पावरले तीन महिनामा झन्डै साढे ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ८ करोड ३३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले नाफामा उल्लेखय सुधार गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १५ करोड ९४ लाख १४ हजार रुपैयाँ नोक्सानीमा थियो ।
उक्त आयोजनामा बाढी क्षति पुर्याएको थियो । त्यसपछि कम्पनीको विद्युत उत्पादन नै रोकिएको थियो । तर, अहिले उक्त आयोजना मर्मत सम्भारपछि पुनः विद्युत उत्पादन थालेको छ । योसँगै आम्दानी पनि बढेको छ । आम्दानी वृद्धिसँगै कम्पनीको नाफा बढेको हो ।
हाल कम्पनीले विद्युत बिक्रीबाट २१ करोड ४३ लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सो अवधिमा भने आयोजना नै ठप्प रहेकाले आम्दानी पनि शून्य थियो ।
यता, कम्पनीको वित्तीय खर्च पनि ह्वात्तै घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको यस्तो खर्च ९ करोड ५२ लाख ८ हजार रुपैयाँबाट घटेर ६ करोड १० लाख रुपैयाँमा झरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ८.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७.५३ रुपैयाँ रहेको छ ।













