साना किसान लघुवित्तको नाफा ३२ करोड बढी, लाभांश क्षमता भने ५१.२७ प्रतिशत, अन्य सूचक कस्ता ?

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले तीन महिनामै ३२ करोड बढी नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा ६.७७ प्रतिशत बढेर ३२ करोड १८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सो अवधिमा पनि कम्पनीले ३० करोड १४ लाख बढी नाफा कमाएको थियो ।
नाफा बढे पनि कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य (४.६५ प्रतिशत) घटेर ४९ करोड २४ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, कम्पनीको संचालन नाफा ७.६० प्रतिशत बढेर ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यता, वितरणयोग्य नाफा भने १ अर्ब ९५ करोड १६ लाख ४९ हजार रुपैयाँ छ । यसका आधारमा कम्पनीको लाभांश क्षमता भने ५१.२७ प्रतिशत देखिएको छ। पहिलो त्रैमासमा कम्पनीले सो बराबरको सामर्थ्य बनाएको हो ।
गत आवको तुलनामा कम्पनीको खराब कर्जा भने बढेर २.४६ प्रतिशत पुगेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ३३.८२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५७.०४ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ४ अर्ब ७४ लाख रुपैयाँ राखेको छ ।