भन्सार शुल्क घटेसँगै ह्वात्तै सस्तियो सुनको भाउ, एकैदिन प्रतितोला १५ हजार ९०० रुपैयाँ घट्यो

काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।
सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।
भन्सार महसुल घटाएसँगै बजार भाउ पनि सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज एकैदिन १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँ घटेर १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
चाँदीको भन्सार शुल्क पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । सोही कारण नै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको हो । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।