वित्तीय व्यवस्थापन जुटेसँगै १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी आयोजना निर्माण सुरु, को-को छन् लगानीकर्ता ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वित्तीय व्यवस्थापन जुटेसँगै १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी आयोजना निर्माण सुरु, को-को छन् लगानीकर्ता ?



काठमाडौं । एक सय ३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन जुटेको छ। मनाङ–मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित अर्धजलाशययुक्त मनाङ–मर्स्याङ्दीको वित्तीय व्यवस्थापन जुटेको हो । आयोजना निर्माणका लागि गत महिना चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो।

एक्जिम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ। बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको कम्पनीले जनाएको छ। आयोजनाको अनुमानित लागत भने ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ।

वित्तीय व्यवस्थापन जुटेसँगै निर्माण सुरु भएको कम्पनीले जनाएको छ। आयोजनामा नेपालको नेतृत्वदायी जलविद्युत् प्रवर्द्धक बुटवल पावरसँगै चिनियाँ लगानीकर्ता एसिआइजी इन्टरनेसनल लिमिटेड, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्युवाइइसी इन्टरनेसनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेस्टमेन्ट कम्पनीको लगानी रहनेछ। यसमा बुटवल पावरको हिस्सा २० प्रतिशत रहने बताइएको छ।

आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरिवेक्षण सोही नर्थवेस्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको बताइएको छ। आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। साथै, यस कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दालाई प्रचलित कानुनको अधिनमा रही सेयर उपलब्ध गराउने योजना बनाएको छ।


प्रतिक्रिया दिनुहोस्