स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् ।
उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिएपछि नयाँ र पुराना ब्रोकरको दुई भिन्दाभिन्दै संघहरु सञ्चालनमा थिए । ती दुई संघबीच मर्जर भएपछि यो पहिलो निर्वाचन भएको हो ।