पत्रकार महासंघमा फरक खेमाबाट उमेदवार बनेका सदस्यलाई निष्काशन गर्ने प्रेस युनियनको निर्णय - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पत्रकार महासंघमा फरक खेमाबाट उमेदवार बनेका सदस्यलाई निष्काशन गर्ने प्रेस युनियनको निर्णय



काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संस्थागत निर्णय विपरित उमेदवार बनेका सदस्य तथा पदाधिकारीहरुलाई नेपाल प्रेस युनियनले संगठनबाटै निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रेस युनियनको ‘विधान–२०४९ (छैटौं संशोधन–२०७९)को धारा ३४ मा भएको व्यवस्था तथा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको निर्णय अनुसार’ यस्तो निर्णय गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय अनुशासन समितिका संयोजक प्रेम के सिले विज्ञप्तीमार्फत् जनाएका छन् ।

‘संस्थागत निर्णय विपरित उम्मेदवारी दर्ता गरेका सबै उम्मेदवारलाई तत्काल सार्वजनिक विज्ञप्ति मार्फत प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न निर्देश गरिन्छ’, विज्ञप्तीमा भनिएको छ।

अन्यथा, अनुशासन उलंघन गरी उम्मेदवारी दर्ता गरेका आफ्ना सदस्यलाई आज (बुधबार)कै मितिदेखि लागू हुने गरी साधारण सदस्य समेतबाट चार वर्षका लागि प्रेस युनियनबाट निष्कासन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यसरी कारबाहीमा पर्नेमा अध्यक्षका उमेदवार रमेश विष्ट सहित १३ जना छन् । उनीहरु प्रेस सेन्टर लगायतका संगठनको समर्थनमा उमेदवार बनेका छन् । यसरी उमेदवार बन्नेहरुमा विकास कार्की, श्रीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मीन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खड्का र ध्रुब रावल छन् ।


प्रतिक्रिया दिनुहोस्