घरपझोङ्ग गाउँपालिकामा प्रभू बैंकको वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
३ चैत्र २०८१, आईतवार

घरपझोङ्ग गाउँपालिकामा प्रभू बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाडाैं। प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार आयोजित उक्त कार्यक्रमको सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए।

डिजिटल प्रविधिको उपयोग गर्दा यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत हुनुपर्ने धारणा व्यक्त गर्दै डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता औंल्याए ।

यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे।

कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिए ।

घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यस गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको र यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्ने धारणा व्यक्त गरे ।

प्रभु बैंकको यस पहललाई स्थानीय समुदायले स्वागत गर्दै, कार्यक्रमको समयमा धेरै प्रशंसा व्यक्त गरे र यस किसिमको कार्यक्रममा आगामी दिनमा पनि सहभागी हुने आशा व्यक्त गरे ।

प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्बसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु थियो।


प्रतिक्रिया दिनुहोस्