उद्योगको लोडसेडिङ दुई साताभित्र अन्त्य गर्ने कार्यकारी निर्देशक शाक्यकाे दाबी
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उद्योगधन्दामा भइरहेको लोडसेडिङ दुई साताभित्र अन्त्य गर्ने दाबी गरेका छन् ।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासमक्ष शपथ ग्रहण गरेपश्चात कार्यभार सम्हाल्दै शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि उद्योगमा लोडसेडिङ हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘अबको चुनौती भनेको गुणस्तरीय बिजुली वितरण हो । कुनै पनि उद्योगमा वर्षमा एक दिनभन्दा बढी ट्रिपिङ नहुने गरी मानक बनाई अगाडि बढाउनुपर्छ । लोडसेडिङ हाम्रो मुद्दा होइन, गुणस्तरीय बिजुली हाम्रो मुद्दा हो ।’
यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनमा बिजुली बक्यौता विवादमा समेत शाक्यले अर्धन्यायिक निकायबाट सिफारिस आइसकेकाले प्राविधिक समाधान निकाल्ने बताए ।
ऊर्जा संकटकाे समयमा आफ्ना लागि चुनौती र अवसर दुवै रहेको भन्दै उनले भने, ‘१० वर्षमा २८ हजार मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरण र सरकारलाई आर्थिक चुनौती छ, यसलाई चुनौतीका रूपमा स्विकारेर म अघि बढ्छु,’ शाक्यले भने ।
सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो ।













