अमेरिका र चीनबीच व्यापार युद्धविराम, ट्यारिफ १०% मा झार्ने सहमति

काठमाडौं । अमेरिका र चीनले सोमबार आपसी सहमतिमा हाललाई पारस्परिक करहरू (ट्यारिफ) घटाउने सम्झौतामा पुगेका छन्। विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रबीचको व्यापार युद्ध अन्त्य गर्ने प्रयासस्वरूप भएको यो सम्झौताले विश्व आर्थिक परिदृश्यमा परेको नकारात्मक असरलाई कम गर्ने अपेक्षा गरिएको छ, जसले वित्तीय बजारलाई समेत अस्थिर बनाएको थियो।
स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको हो । दुबै पक्षले आगामी ९० दिनका लागि थप प्रतिबन्ध नलगाउने र ट्यारिफ (कर) दरलाई १०% मा झार्ने सहमति गरेका छन्, जुन हालकोभन्दा १०० प्रतिशत बिन्दु कम हो।
यो जिनेभा वार्ता डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा राष्ट्रपति बनेपछि भएको पहिलो प्रत्यक्ष उच्चस्तरीय वार्ता थियो। ट्रम्पले जनवरीमा कार्यभार सम्हाल्नासाथ चीनबाट आयात हुने सामानमा १४५% सम्मको भारी ट्यारिफ लगाएका थिए। यसअघि, पहिलो कार्यकालमा र बाइडेन प्रशासनले समेत चीनमाथि विभिन्न शुल्कहरू लगाएका थिए।
जवाफस्वरूप, चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा ट्यारिफ १२५% पुर्याएको थियो । साथै दुर्लभ पृथ्वी खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो । जुन अमेरिकी हतियार उद्योग र इलेक्ट्रोनिक सामान निर्माणमा अत्यावश्यक छन्।
यो ट्यारिफ विवादका कारण झण्डै ६०० अर्ब अमेरिकी डलर बराबरको दुईपक्षीय व्यापार ठप्प भएको छ, जसले आपूर्ति शृंखलामा समस्या, मुद्रास्फीतिको डर र केही स्थानमा रोजगारी कटौती समेत ल्याएको थियो।
यतिबेला वित्तीय बजारले व्यापार युद्धमा सुधारको संकेत खोजिरहेका छन् र आज सोमबार वार्तापछि वाल स्ट्रीटको स्टक बजार बढेको छ भने अमेरिकी डलर अन्य सुरक्षित मुद्राहरूको तुलनामा मजबुत बनेको छ ।