बसाई सराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बसाई सराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ



काठमाडाैं । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ ।

बसाई सराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिएका छन्। उनले भने,“गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराई रोकिने कृष्ण खांणकाे भनाई छ ।

प्रमुख खांणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताए । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताए ।

वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिएका छन् ।

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिती सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाई छ ।

छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी,डाक्टर अम्मर शाह,नगेन्द्र बस्ताकोटी,अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराएका थिए ।

कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उनले भने,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”


प्रतिक्रिया दिनुहोस्