५४ वटा जलविद्युत आयोजना पीपीए सूचीमा प्रवेश, आगामी जेठ मसान्तभित्रै आवेदन पेस गर्नुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाहरुलाई विद्युत खरिद सम्झौता (पीपीए) गर्न आवेदन दिन आह्वान गरेको छ ।
प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट गरिसकेका १० जलविद्युत आयोजना तथा निर्माणाधीन आयोजनाहरुलाई पीपीए गर्न बोलाएको हो ।
प्राधिकरणको बैशाख ३० बुधवार गतेको निर्णय अनुसार गत चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न गरिसकेका आयोजना तथा हाल निर्माणाधीन ५४ वटा आयोजना पीपीएका लागि योग्य ठहरिएका छन् । तीमध्ये ३८ वटा नदी प्रवाही (आरोआर) र १६ वटा अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिका छन् ।
पीपीएका लागि आयोजनाले ३० दिनभित्र अर्थात् आगामी जेठ ३० गतेसम्म निवेदन दिनुपर्ने छ । निवेदन भने विद्युत व्यापार विभागमा पेस गर्नुपर्ने छ ।
प्रक्रियामा विद्युत प्रणालीको वर्तमान अवस्था, लोड फलो विश्लेषण, ओभरलोड अवस्थाको जोखिम, एन–१ कन्डिसन, डिस्प्याच अनुदेशलगायत प्रविधिगत पक्षलाई समेत आधार बनाइएको छ ।
प्राधिकरणले सम्बन्धित आयोजना, स्थान, क्षमता, र ग्रिड जडान अवस्थासहितको विस्तृत विवरण सहितको नामावली सार्वजनिक पनि गरेको छ ।
PPA-open-notice-by-NEA