नेपाल भित्रिँदै एमजीको विन्डसर ईभी, शहरी उपभोक्ताका लागि ‘खोजेजस्तै’ « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

नेपाल भित्रिँदै एमजीको विन्डसर ईभी, शहरी उपभोक्ताका लागि ‘खोजेजस्तै’



काठमाडौँ । नेपाली बजारमा न्यू इनर्जी भेहिकललाई परिचित गराउन सफल पहिलो ब्राण्ड एमजीले अब नयाँ गाडी भित्र्याउँदै छ । ‘जेडएस’ इभीको अपार सफलता पछि कम्पनीले अब विन्डसर मोडलको नयाँ गाडी भित्र्याउन लागेको हो ।

एमजीको नेपाल स्थित आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले अबको केहीदिन भित्रै उक्त नयाँ गाडी नेपाल भित्रिने जनाएको छ ।

विन्डसर एक आकर्षक ‘मल्टि युटिलिटी भेहिकल (एमयूभी)’ हो । पछिल्लो समय ‘स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी)’मा प्रेरित देखिएको नेपाली समाजलाई शहरी क्षेत्र र तराईको समथर भागमा कुदाउन एमयूभी ज्यादा आकर्षक हुनसक्छ ।

एसयूभीको डिजाइन ट्रकसँग मिल्दोजुल्दो हुन्छ भने एमयूभी ‘मिनिभ्यान’को डिजाइनसँग निकट हुन्छ । यसले एमयूभी गाडीहरु बस्नका लागि सजिलो, धेरै मान्छे बोक्न सक्ने र आरामदायी हुन्छ । एमयूभी हेर्दा पनि अलि ठूलो खाले सेडान गाडीजस्तै देखिन्छ ।

यसले गाडी चढ्ने व्यक्तिको शान नै छुट्टै हुन्छ ।

एमजी विन्डसर १०० किलोवाट मोटर पावर भएको गाडी हो । यो गाडीले अधिकतम १३४ बीएचपी पावर र २०० एनएम टर्क उत्पन्न गर्न सक्छ । अटोमेटिक ट्रान्समिशन भएको यो गाडी फ्रण्ट ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ ।

यो गाडीमा तपाइँले फ्रन्ट र रियर दुबैतर्फका डिस्क ब्रेकहरु पाउनु हुन्छ । गाडीको आकार पनि ठूलो छ ।

कुल ४२९५ मिलिमिटर (एमएम) लामो र २१२६ एमएम फराकिलो यो गाडीको उचाइ १६७७ एमएम छ । गाडीमा पाँच जना आरामले बस्न मिल्छ । १८६ एमएम ग्राउण्ड क्लियरेन्स भएको यो गाडीको ह्विलबेस २७०० एमएममात्रै छ । यसले गर्दा सानातिना खाल्डाखुल्डि र बर्खाको बाटोमा पनि गाडी कुदाउन अप्ठेरो पर्दैन ।

पछाडी सहित पाँच वटा ढोका भएको यो गाडीमा ६०४ लिटरको ठूलो बूट स्पेस दिइएको छ । यसमा तपाइँले चारदेखि पाँचवटा सुटकेश मज्जाले राख्न सक्नुहुन्छ ।

पावर स्टियरिङ, एयर कन्डिशन, हिटर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ट्रङ्क लाइट रियर एसी भेन्ट, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर, की–लेस इन्ट्रि, यूएसबी चार्जर, पावर विण्डो, सी–कप होल्टर लगायत अधिकतर आधुनिक फिचर्सहरु यो गाडीमा उपलब्ध छ ।

यसको शक्तिशाली एसेसरिज पावर आउटलेटले तपाइँलाई गाडीभन्दा केही टाढा पनि विजुली आपूर्ति गर्न, इन्डक्सन चुल्हो लगेर खाना पकाउन, ग्याजेट्स चार्ज गर्न जस्ता अनेक सुविधा दिन्छ । हाइट एड्जस्टेशल ड्राइभर सीट, एड्जस्टेशल हेडरेस्ट जस्ता सुविधाले गाडीलाई अझ आरामदायी बनाएको छ ।

गाडीको इन्टेरियरको कुरा गर्दा ७ इञ्चको डिजिटल क्लस्टर र १०.१ इञ्चको इन्फोटेनमेन्ट टच स्क्रिन उपलब्ध छ । चार वटा स्पिकर, यूएसबी पोर्ट, ब्लुटुथ कनेक्टिभिटी, रेडियोजस्ता फिचर्स पनि उपलब्ध छ । एड्भान्स इन्टरनेट फिचर्सहरु नभए पनि प्रयोगकर्ताका लागि चाहिने सबै खाले फिचर्स यो गाडीमा उपलब्ध गराइएको छ ।

सुरक्षाका हिसाबले पनि यो गाडी उत्कृष्ठ मध्येमा पर्छ । एण्टिलक ब्रेकिङ सिस्टम (एबीएस), ब्रेक असिस्ट, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, टायर प्रेसर मोनिटरिङ सिस्टम, स्पीड अलर्टजस्ता सुरक्षा फिचरहरु गाडीमा उपलब्ध छन् । यसमा कुल ६ वटा एयर ब्याग दिइएको छ ।

यो गाडीलाई कम्पनीले ३८ किलोवाट आवर र ५२.९ किलोवाट आवरका ब्याट्री अप्सनमा बजारमा पठाएको छ । यसमध्ये नेपाल ल्याउन लागिएको चाहीँ ३८ किलोवाट आवरको गाडी हो । यसमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्री एक पल्ट १०० प्रतिशत चार्ज गरेपछि ३३२ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

उक्त ब्याट्री ७.४ किलोवाटको एसी चार्जरबाट साढे ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । ५० किलोवाटको डीसी चार्जिङ पटबाट भने ५५ मिनेटमै ० देखि ८० प्रतिशत चार्ज हुन्छ । यसबाहेक ३.३ किलोवाटको एसी वालबक्सबाट पनि गाडी चार्ज गर्न सकिन्छ ।

भारतीय बजारमा विन्डसर ईभी चार भेरियन्टमा उपलब्ध छ । एक्साइट, एक्सक्लुसिभ, एसेन्स र एसेन्स प्रो । यसमध्ये एसेन्स प्रो १० दिन अघिबाट मात्रै बूकिङ खुला भएको नयाँ भेरियन्ट हो । तर नेपालमा ल्याउन लागिएको चाहीँ एसेन्स भेरियन्ट हो, जुन भारतीय बजारमा यो मोडलकै ‘टप सेलिङ’ भेरियन्ट बनिसकेको छ ।

भारतीय बजारमा यो गाडीको मूल्य १६ लाख भारु तोकिएको छ । त्यसमा रोड ट्याक्स र बीमा जोड्दा १७ लाख रुपैयाँ पर्छ । तर नेपाली बजारमा भने यसको मूल्य तय भइसकेको छैन । पारामाउण्ट मोटर्सका अनुसार नेपाली रुपैयाँ ४० लाख हाराहारी पर्नसक्ने बताइएको छ ।

नेपालमा १०० किलोवाट मोटर क्षमताको गाडी आयात गर्दा २० प्रतिशत भन्सार महशुल र १५ प्रतिशत अन्तःशुल्क गरी ३५ प्रतिशत राजस्व लाग्छ । त्यसपछि १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्छ । सरकारले विद्युतीय गाडीका लागि रोड ट्याक्समा भने ५० प्रतिशत सहुलियत दिएको छ ।

एमजी मूलतः चिनियाँ ब्राण्ड भए पनि विन्डसर गाडी भने भारतमै बन्छ । एमजी ब्राण्डको स्वामित्ववाला कम्पनी साइक मोटरसँग भारतको जेएसडब्ल्यू ग्रुपले साझेदारी गरेर स्थापना भएको ‘जेएसडब्ल्यू एमजी मोटर इण्डिया प्रालिले भारतमै यो गाडी उत्पादन गर्छ ।


प्रतिक्रिया दिनुहोस्