रेशम चौधरी पक्राउ प्रकरण : अनधिकृत पत्र लेख्ने शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा हुने

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
विष्टले सर्वोच्च अदालतको आधिकारिक अनुमति बिना नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन दिने पत्र तयार गरेका थिए । सो पत्र लिएर उनी स्वयं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पु¥याएको थियो । पछि उक्त पत्र आधिकारिक नभएको पुष्टि भएपछि चौधरी रिहा भएका थिए भने विष्ट पक्राउ परेका थिए ।
अहिले विष्ट धरौटी बुझाएर रिहा हुने प्रक्रियामा छन्।