विकास हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले भर्न पाउँछन् ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

विकास हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले भर्न पाउँछन् ?



काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आज जेठ ६ गतेबाट पहिलो चरणको आइपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा असार ४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २० गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन मा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्