बालबालिकामा आँखाको क्यान्सर र मायोपियाबारे जनचेतना फैलाउँदै तिलगंगा प्रतिष्ठान « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बालबालिकामा आँखाको क्यान्सर र मायोपियाबारे जनचेतना फैलाउँदै तिलगंगा प्रतिष्ठान



काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लास्टोमा तथा मायोपिया सचेतना सप्ताह (मे ११–१७) सम्पन्न गरेको छ ।

प्रतिष्ठानले काठमाडौँ सहित देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको हो ।

प्रतिष्ठानले रेटिनोब्लास्टोमा अर्थात् बालबालिकाको आँखाको क्यान्सरसम्बन्धी समयमै पहिचान र उपचारको महत्वबारे आम नागरिकलाई जानकारी दिने उद्देश्यले सचेतना डेस्क, भिडियो सामग्री प्रदर्शन, सामाजिक सञ्जाल तथा रेडियोमार्फत सन्देश प्रवाह गरेको हो ।

साथै, ओपन आइज नेपालसँगको सहकार्यमा वैशाख २८ देखि जेठ ३ सम्म प्रभावित बालबालिकाका लागि निःशुल्क ओपिडी तथा प्रोस्थेसीस सफाइ सेवा प्रदान गरिएको थियो ।

डा. पूर्णिमा राजकर्णिकारका अनुसार आँखामा सेतो टिका देखिनु, रातो हुनु, दुख्ने, आँखाको आकार बढ्दै जानु वा बाहिर आउनु र आँखाको डेढोपन र सुक्खापन रेटिनोब्लास्टोमाका प्रमुख लक्षण हुन् ।

त्यस्तै, मायोपिया (टाढाको दृश्य अस्पष्ट देखिने समस्या) को सचेतना सप्ताह जेठ ५ गतेदेखि ११ गतेसम्म संचालन गरिरहेको छ ।

‘स्क्रिन तल, आँखामाथि’ भन्ने नारासहित बालबालिकालाई समयमै आँखा जाँच गर्न, बाहिरी खेलकुदमा संलग्न गराउन, मोबाइल–स्क्रिनको प्रयोग कम गर्न तथा ‘२०–२०–२०’ नियम (हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्नु) पालना गर्न आग्रह गरिएको छ ।

बाल आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीले विद्यालय भर्ना अघि अनिवार्य रूपमा एकपटक बालबालिकाको आँखा जाँच गुर्नपर्नेमा जोड दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस्