सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला, कस्ताे छ कम्पनीकाे वित्तीय अवस्था ?

सान्भि इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि, अब कम्पनीले बाँकी शेयर आम नागरिकका लागि खुला गरेको हो।
कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा कूल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्दैछ, जसको कुल मूल्य रु २४ करोड १५ लाख ३० हजार बराबर हुनेछ।
यसअघि, कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ८ लाख ८० हजार कित्ता शेयर (रु ८ करोड ८० लाख बराबर) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार कित्ता शेयर (रु २ करोड ९१ लाख बराबर) निष्काशन गरेको थियो।
साथै, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता शेयर छुट्याइएको थियो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ भने आवेदन अवधि छिटोमा जेठ १३ गतेसम्म र ढिलोमा जेठ २३ गतेसम्म खुला रहनेछ।
कम्पनीले आईपीओ निष्काशनका लागि केयर रेटिङ्स नेपालबाट केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग पाएको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व तिर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
सान्भि इनर्जीले प्रवर्द्धन गरिरहेको ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको छ। यो आयोजनाको विद्युत उत्पादन अनुमति अझै २३ वर्ष १ महिना बाँकी छ।
यसबाहेक, निर्माणाधीन ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित लागत करिब १ अर्ब ९१ लाख रुपैयाँ छ। यसको प्रतिमेगावाट लागत करिब १९ करोड ४० लाख रुपैयाँ रहेको छ। आयोजनाको लाइसेन्स अवधि अझै ३० वर्ष ११ महिना बाँकी छ, भने लगानी फिर्ता हुने औसत अवधि ६.७३ वर्ष र छुट मूल्यमा ११.१० वर्ष छ।