नर्वेमा पुनः चम्कियो टेस्ला, ‘मोडेल वाई’ बन्यो बेस्टसेलर

ओस्लो । युरोपका धेरै देशहरूमा टेस्लाको बिक्री घट्दो क्रममा हुँदा नर्वेमा भने यसको माग झनै बढेको देखिएको छ ।
युरोपका अधिकांश देशमा टेस्लाको बिक्री ओरालो लागिरहेको अवस्था छ । तर, नर्वेमा भने यो ब्रान्ड फेरि लोकप्रिय बन्दै गएको छ । शून्य ब्याज कर्जा योजना र ‘मोडेल वाई’ को आकर्षणले टेस्लालाई नर्वेली सवारी बजारमा पुनः अगाडि ल्याएको हो ।
एएफपीका अनुसार पछिल्ला महिनाहरूमा ‘मोडेल वाई’ नर्वेमा सबैभन्दा धेरै बिक्री हुने गाडी बनेको छ । मे महिनामा टेस्लाले बजार हिस्सा १८.२ प्रतिशत पु¥याएको छ । योसँगै बिक्रीको शीर्ष स्थान पुनः हासिल गरेको छ । यो अघिल्लो महिनाको तुलनामा तीन गुणा वृद्धि भएको हो ।
विद्युतीय सवारी अपनाउने मामिलामा नर्वे विश्वकै अगुवा मुलुक हो । मे महिनामा दर्ता भएका गाडीमध्ये ९३.९ प्रतिशत विद्युतीय थिए ।
तर, वर्षको सुरुआती पाँच महिनामा टेस्लाको समग्र बिक्री वृद्धिदर भने ८.३ प्रतिशत मात्र रहेको छ । जब कि समग्र बजार ३० प्रतिशत भन्दा बढीले विस्तार भएको थियो । भोल्क्सवागनपछि टेस्ला दोस्रो स्थानमा छ ।
यता, युरोपेली संघमा टेस्लाको बजार हिस्सा घटेर १.१ प्रतिशतमा झरेको छ । चीनियाँ ब्रान्डहरूको कडा प्रतिस्पर्धा र कम्पनी प्रमुख इलन मस्कका विवादास्पद विचारप्रति असन्तुष्ट उपभोक्ताहरू यसका प्रमुख कारण मानिएका छन् ।