१६ कार्तिक २०८३, सोमबार

मूल्य युद्धको चक्रव्यूहमा चिनियाँ अटो उद्योग: चार वर्षकै न्युन बिन्दुमा झर्‍यो नाफा



काठमाडौं । बजार कब्जा गर्ने होडबाजीमा अन्धाधुन्ध गरिएको मूल्य कटौती (प्राइस वार) ले चीनको अटोमोबाइल उद्योगलाई गहिराे संकटतर्फ धकेलिरहेकाे छ।

लामो समयदेखि चल्दै आएको अस्वस्थ प्रतिस्पर्धाका कारण यस वर्षको सेप्टेम्बर महिनामा चिनियाँ कार उद्योगको नाफा मार्जिन झण्डै चार वर्षकै कमजोर अवस्थामा पुगेको हाे । बिक्रीको परिमाण बढे पनि नाफा सुक्दै जाँदा चिनियाँ अटो बजार एउटा गम्भीर चक्रव्यूहमा फस्न सक्ने संकेत देखिएकाे छ।

चीनकाे राष्ट्रिय तथ्याङ्क ब्युराे (एनबीएस) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो नौ महिनामा कार निर्माताहरूको कुल नाफा गत वर्षको तुलनामा २२.८ प्रतिशतले घटेको छ। यो अवधिमा अन्य ठूला औद्योगिक कम्पनीहरूको समग्र नाफा १५.५ प्रतिशतले बढेको भए पनि अटो क्षेत्रको प्रदर्शन भने अति नै निराशाजनक देखिएकाे छ।

चाइना प्यासेन्जर कार एसोसिएशन (सीपीसीए) का महासचिव स्वेइ डोङ्शुले एनएसबीको तथ्याङ्क विश्लेषण गर्दै यस वर्षको पहिलो नौ महिनामा अटो उद्योगको समग्र नाफा मार्जिन घटेर मात्र ३.३ प्रतिशतमा खुम्चिएको बताएका छन्।

चीनीयाँ अटाे उद्याेगमा अहिले उत्पादनको लागत आम्दानीभन्दा तीब्र गतिमा बढेको छ। यस्ताेमा नाफा नबढाई केवल बिक्री मात्रै बढाउने अनौठो प्रवृत्ति किन माैलाइरहेकाे छ ? भन्ने प्रश्न समेत उब्जीएकाे छ।

विशेष गरी सेप्टेम्बर महिनाको अवस्था झनै दयनीय देखिएकाे छ। उक्त महिनामा मात्रै कार निर्माताहरूको नाफा ६८ प्रतिशतले घटेर १४ अर्ब २० करोड युआनमा सिमित भयो, जसले गर्दा सेप्टेम्बर महिनाको मात्र नाफा मार्जिन झरेर १.४ प्रतिशतमा झर्यो। यो गत डिसेम्बर २०२५ मा देखिएको १.८ प्रतिशतको न्यून विन्दुभन्दा पनि तल हो।

दुईतर्फी चेपुवामा परेका अटो निर्माताहरू

एकातर्फ बजारमा तीव्र प्रतिस्पर्धाका कारण गाडीको मूल्य घटाउनैपर्ने बाध्यता, अर्कातर्फ अनुसन्धान, विकास र बिक्री च्यानलका खर्चहरू घट्नको साटो झनै बढेर जानुले अटो कम्पनीहरूलाई दुईतर्फी चेपुवामा परेका छन् ।

कम्पनीहरूको आयभन्दा लागत निकै तिब्र गतिमा बढेको छ। पहिलो नौ महिनामा गाडीको कुल राजस्व २.६ प्रतिशतले बढेर ८.०४ ट्रिलियन युआन पुग्दा, लागत भने ३.८ प्रतिशतले बढेर ७.१६ ट्रिलियन युआन पुग्यो।

परिणामस्वरुप, कच्चा पदार्थको बढ्दो मूल्य र मेमोरी चिप्स तथा लिथियम कार्बोनेट जस्ता अत्यावश्यक सामग्रीको आकाशिँदो मूल्यले अपस्ट्रिम सप्लायरहरूलाई मात्र मालामाल बनायो, तर कार निर्माताहरूको प्रतिगाडी औसत खुद नाफा घटेर करिब ११,००० युआनमा सीमित भयो।

घट्दो आन्तरिक माग र परम्परागत इन्धन कारको सकस

यो नाफाको सङ्कट केवल मूल्य युद्धमा मात्र सीमित छैन, यसको जरो घट्दो आन्तरिक बजार मागसँग पनि जोडिएको छ। यस वर्ष नयाँ ऊर्जा सवारीसाधन (एनईभी) खरिदमा दिइने कर छुटको दायरा घटाइएपछि मागमा थप सुस्तता आएकाे छ।

तथ्याङ्क अनुसार, सेप्टेम्बरमा प्यासेन्जर कारको खुद बिक्री वार्षिक आधारमा २८ प्रतिशतले घटेर १.६१८ मिलियनमा झर्यो, जुन यस वर्षको सबैभन्दा ठूलो मासिक गिरावट हो। यसमा पनि पेट्रोलबाट चल्ने कारहरूको बिक्री त ह्वात्तै घटेर ४३ प्रतिशतले तल झरेकाे छ।

यद्यपि, समग्र उत्पादनमा ईभी (एनईभी) को हिस्सा ५३ प्रतिशत पुग्दै १२.४६ मिलियन युआन बराबर उत्पादन भए पनि परम्परागत गाडीहरूको उत्पादन १७ प्रतिशतले खस्किएको छ।

अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न सरकार आफै मैदानमा

अटो बजारमा चलिरहेको यो अन्धाधुन्ध र अस्वस्थ मूल्य कटौती (जसलाई चीनमा ‘इभोलुसन-स्टाइल’ प्रतिस्पर्धा भनिन्छ) लाई नियन्त्रण गर्न अब सरकार आफैं मैदानमा उत्रिएको छ।

गत अक्टोबर १६ मा चिनियाँ स्टेट काउन्सिलले सन् १९९८ यता पहिलो पटक ‘मूल्य कानुन’ (प्राइस ल) मा संशोधन प्रस्तावलाई सैद्धान्तिक रूपमा स्वीकृत गर्दै संसद्को स्थायी समितिमा पठाएको छ। लागतभन्दा कम मूल्यमा सामान बेच्ने प्रवृत्तिलाई रोक्न कडा कानुनी दायित्व तय गरिएको छ।

यसअघि नै जनवरीमा मन्त्रीस्तरका विभिन्न निकायहरूले १७ वटा प्रमुख अटो कम्पनीहरूलाई बोलाएर अस्वस्थ प्रतिस्पर्धा नगर्न चेतावनी दिइसकेका छन्।

विज्ञहरूका अनुसार अब चिनियाँ अटोमोबाइल उद्योगले आफ्नो आपूर्ति श्रृंखलालाई चुस्त नबनाए र प्रविधिको माध्यमबाट प्रतिगाडी मुनाफा नबढाए समग्र अटो क्षेत्रको स्थायित्व नै धरापमा पर्नेछ। बजारमा टिकिरहन अब मूल्यको लडाइँ छोडेर गुणस्तर, नवप्रवर्तन र लागत व्यवस्थापनमा ध्यान दिनुपर्ने आवस्यकता औल्याइएको छ।