बीएमडब्लूको नयाँ इलेक्ट्रीक एसयूभी ‘आइएक्स-टू’ बिक्री आजदेखि सुरु, कति तोकियो मूल्य ?

काठमाडौं । विश्वप्रसिद्ध जर्मन अटो ब्रान्ड बीएमडब्लूको नयाँ इलेक्ट्रीक एसयूभी ‘आइएक्स टू’ अब नेपाली बजारमा भित्रिएको छ ।
बीएमडब्लूका नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले आजदेखि ‘आइएक्स टू’को बिक्री सुरु गरेको हो ।
कम्पनीले यसअघि ‘आइएक्स वान’ र ‘आइएक्स थ्री’ जस्ता विद्युतीय मोडल नेपाली बजारमा भित्राइसकेको छ । अब ‘आइएक्स टू’ मार्फत आफ्नो लाइनअपमा थप विस्तार गर्न लागेको हो । यो मोडल खासगरी कुपे–स्टाइल डिजाइन, उत्कृष्ट इन्टेरियर सुविधा र दमदार परफर्मेन्सका कारण चर्चामा छ ।
बीएमडब्लू ‘आइएक्स टू’ मा ६६.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले ४४९ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । यसको प्रमाण डब्लूएलटीपी मापदण्डले दिएको छ । यसलाई ११ किलोवाटको एसी चार्जर वा १३० किलोवाटको डीसी फास्ट चार्जरमार्फत चार्ज गर्न सकिन्छ, जसले प्रयोगकर्तालाई झन्झटविहीन चार्जिङ अनुभव प्रदान गर्छ ।
यो एसयूभीमा १५० किलोवाट पावर क्षमताको फ्रन्ट–व्हील ड्राइभ मोटर राखिएको छ । जुन, ई–ड्राइभ २० सिस्टम अन्तर्गत संचालन हुन्छ । यो संयन्त्रले कम आवाज, शून्य उत्सर्जन र स्मूद ड्राइभिङ अनुभव सुनिश्चित गर्छ ।
यो गाडीमा लक्जरी इन्टेरियर र प्रविधि–पूरक फिचरहरू छन् । ‘बिएमडब्लू आइएक्स टू’को इन्टेरियर डिजाईन साँचिकै आकर्षक छ । ड्यूल कर्भ स्क्रिन लेआउट, हेड–अप डिस्प्ले र १२ स्पीकरसहितको हर्मन कार्डन साउन्ड सिस्टम यसमा प्रमुख फिचर हुन् ।
त्यस्तै, प्यानारोमिक ग्लास रुफ, हिटेड पावर्ड सिटहरू, वायरलेस चार्जर र स्वचालित एसी जस्ता सुविधाले यात्रालाई अझ आरामदायक बनाउँछन् ।
सुरक्षा मापदण्डमा पनि कुनै सम्झौता नगरिएको कम्पनीको दावी छ । यो एसयूभीमा ७ वटा एयरब्याग, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम, ड्राइभ अफ असिस्ट, हाइ बिम असिस्ट, अटोहोल्ड र डाइनामिक ब्रेक कन्ट्रोल जस्ता एडभान्स्ड सुरक्षा फिचरहरू दिइएका छन् ।
यसका साथै चारै चक्कामा डिस्क ब्रेक र मल्टी ड्राइभ मोडले यात्रालाई थप सुरक्षित बनाउँने कम्पनीले जनाएको छ ।
‘आइएक्स टू’ एक कम्प्याक्ट लक्जरी एसयूभी हो, जसको लम्बाइ ४५५४ मिमी, चौडाइ १८४५ मिमी र उचाइ १५६० मिमी रहेको छ । २६९२ मिमीको ह्वीलबेसले यसलाई सहर तथा राजमार्ग दुबैमा सहज बनाउँछ । यो मोडलमा १९ इन्चको डबल स्पोक अलोय ह्वील दिइएको छ । यद्यपि, स्पेयर टायरको सट्टा टायर रिपेयर किट मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा यसको अनुमानित मूल्य १ करोड ७८ लाख रुपैयाँ तोकिएको छ ।