हिम स्टार उर्जा कम्पनीको आईपीओमा आजदेखि आवेदन खुला « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आजदेखि आवेदन खुला



काठमाडाैं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्न लागेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै यो सार्वजनिक निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरका १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

यी शेयरका लागि ओखलढुङ्गा जिल्ला, खिजीदेम्बा गाउँपालिका वडा नं ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडाहरू तथा सोलुखुम्बु जिल्ला, लिखुपिके गाउँपालिका वडा नं २, साविक गोली गाविस वडा नं १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले कुल ९३ लाख २५ हजार रुपैयाँ बराबरका ९३ हजार २५० कित्ता शेयर निष्कासन गर्न लागेको छ। यस्ता व्यक्तिहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन छिटोमा असार १३ गतेसम्म र ढिलोमा असार २९ गतेसम्म खुला रहनेछ। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनिवार्य रूपमा असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्