आईएमई पे र खल्तीको एकीकृत कारोबार साउन १ गतेदेखि हुने

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेडले एक आपसमा गाभिने भएका छन् ।
मर्जरपछि ‘आईएमई खल्ती लिमिटेड’ नाममा संयुक्त रूपमा आफ्नो कारोबार सञ्चालन हुने भएको छ ।
मर्जरको परिणाम स्वरूप आगामी साउनको १ गते बिहीबारदेखि यी दुई संस्थाले भुक्तानी सम्बन्धी सबै कारोबार एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन भएका हुन् ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यी दुई संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । मर्जरपछि कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहेको हुनेछ ।
मर्जरपछि खल्ती एपको प्रयोगकर्ता संख्या ५० लाखभन्दा बढी पुग्नेछन् ।
आईएमई पेका प्रयोगकर्ताहरूको वालेटमा रहेको ब्यालेन्स र रिवार्ड प्वाइन्टहरू स्वचालित रूपमा खल्ती एपमा स्थानान्तरण हुने व्यवस्था गरिएको छ । साथै, आइएमई पेका प्रयोगकर्तालाई आफ्नो स्वीकृतिमा खल्ती एपमा समावेश हुनेछ । आइएमई पेमा रहेका सबै सुविधाहरू अब एकीकृत खल्ती एपमा उपलब्ध हुनेछन् ।