विकाश हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला « Arthapath.com
१९ असार २०८२, बिहीबार

विकाश हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला



काठमाडाै । विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) खुला गरेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको थियो।

अब सर्वसाधारणका लागि दोस्रो चरणमा कुल २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्काशन गर्न लागिएको हो।

यसअघि कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीको कुल जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत हिस्साबापत ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति प्राप्त छ।

दोस्रो चरणमा कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ७७ हजार २७५ कित्ता आरक्षित राखिएको छ।

बाँकी रहेको हिस्सा अब सर्वसाधारणले आवेदन दिन सक्नेछन्, जहाँ न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मको आवेदन दिन सकिनेछ। आईपीओ छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गतेसम्म खुला रहनेछ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।


प्रतिक्रिया दिनुहोस्