बजार माग र मूल्यमा कमी आउँदा अशोक स्टीलको व्यापार घट्यो, ३ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौं । अशोक स्टील इन्डष्ट्रिजको व्यापारमा गिरावट आएको छ । कम्पनीको व्यापार एकै वर्ष झन्डै आधा घटेको छ ।
कम्पनीले गत वर्ष सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो अघिल्ला वर्ष २०२३ को तुलनामा भने ४६.१७ प्रतिशत कमी हो । सन् २०२३ मा ६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ मा पनि कम्पनीले ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
बजार मागमा र मूल्यमा कमी आउँदा व्यापारमा प्रभाव परेको रेटिङमा उल्लेख गरेको छ । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९८४मा स्थापना भएको कम्पनीले डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक एक लाख मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले डण्डीसँगै स्पोन्ज आइरन स्क्र्याब आइरन प्रयोग गरी एम एस विलेट उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३९ करोड २३ रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले अशोक टीएमटी ब्राण्डमा डण्डीको व्यापार गर्दै आएको छ । कम्पनीको अध्यक्ष पुनमचन्द अग्रवाल हुन् ।