१६ कार्तिक २०८३, सोमबार

शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्ति र संस्थाहरू सम्मानित



काठमाडौं । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका प्रतिष्ठित व्यक्तित्वहरू र शैक्षिक संस्थाहरूलाई सम्मान गर्दै ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ भव्य रुपमा सम्पन्न भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममार्फत शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्व, शैक्षिक संस्था र परामर्श केन्द्रहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षेत्र २०८२’ का रूपमा लामो समयदेखि निजी शिक्षा क्षेत्रको नेतृत्व गर्दै आएका लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठलाई सम्मान गरिएको थियो।

यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान’ बाट सम्मानित भए। साथै, शिक्षाविद् डा प्रकाशमान श्रेष्ठ, डा गणेशबहादुर सिंह र गेट कलेजका सिइओ खेम आर लकाईले ‘शिक्षा सम्मान’ प्राप्त गरे।

शैक्षिक उत्कृष्टताका आधारमा सम्मानित संस्थागत शैक्षिक संस्थाहरूमा काठमाडौं मोडल सेकेन्डरी स्कुल (बालकुमारी) ले ‘बेस्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड’, ट्रिनिटी इन्टरनेसनल कलेजले ‘बेस्ट एकेडेमिक इन्भाइरन्मेन्ट अवार्ड’, पिनाकल एकेडेमीले ‘कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’, मुनलाइट स्कुलले ‘कमिटमेन्ट टु एक्सिलेन्स’, बर्नहार्ट कलेजले ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट्स अवार्ड’, ओमेगा इन्टरनेसनल कलेजले ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’, मनास्लु वर्ल्ड कलेजले ‘प्रेस्टिजियस प्लस टु अवार्ड’, टेक्सास इन्टरनेसनल कलेजले ‘बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड’, समृद्धि स्कुलले ‘बेस्ट लर्निङ्ग सेन्टर अवार्ड’, ब्रिजवाटर इन्टरनेशनलले ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’, अरनिको र मदरल्याण्ड सेकेन्डरी स्कुलले ‘रिजनल प्रेस्टिज अवार्ड’ तथा मोर्गन इन्टरनेसनल कलेजले ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’ प्राप्त गरेका छन्।

‘उत्कृष्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरूमा काठमाडौं मोडेल सेकेन्डरी स्कुल (बागबजार), युनाइटेड एकेडेमी (ललितपुर), रिलायन्स इन्टरनेसनल (चाबहिल), जेभियर इन्टरनेसनल (लाजिम्पाट), किस्ट कलेज (कमलपोखरी), लिभरपुल कलेज (नयाँ बानेश्वर), लिटिल एन्जल्स स्कुल (ललितपुर), भीएस निकेतन (तीनकुने), ट्रिटन कलेज (बालकुमारी), नेपाल मेगा कलेज (बबरमहल), नेपाल काष्ठमण्डप कलेज (कलंकी) र आइएसटी स्कुल (ज्ञानेश्वर) रहेका छन्।

प्रदेशअनुसार सम्मानित उत्कृष्ट सामुदायिक विद्यालयहरूमा कोशी प्रदेशबाट ओखलढुंगाको गोल्मादेवी मावि, मधेश प्रदेशबाट रौतहटको बीपी कोइराला आदर्श मावि, बाग्मती प्रदेशबाट काठमाडौंको विश्व निकेतन मावि, गण्डकी प्रदेशबाट कास्कीको अमरसिंह मावि, लुम्बिनी प्रदेशबाट दाङको श्री मावि, कर्णाली प्रदेशबाट सल्यानको सारदा जनकल्याण मावि र सुदूरपश्चिम प्रदेशबाट बैतडीको ज्ञानेश्वर मावि सम्मानित भए।

त्यस्तै, विदेशी अध्ययनका लागि उत्कृष्ट परामर्श सेवा प्रदान गर्दै आएका कन्सल्टेन्सीहरूमध्ये ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी’ विधामा युकेतर्फ अल्टिमेट कन्सल्टेन्सी, अष्ट्रेलियातर्फ द नेक्स्ट, न्यूजिल्याण्डतर्फ एक्सेस एजुकेसन, अमेरिकातर्फ अल्फा बिटा, क्यानडातर्फ म्यापल एजुकेसन, जापानतर्फ सक्सेस एब्रोड, आयरल्याण्डतर्फ हब इन्टरनेसनल सम्मानित भए।

त्यसैगरी, ग्रेस इन्टरनेसनल – ‘ग्लोबल कनेक्टिभिटी अवार्ड’, एक्सपर्ट एजुकेसन – ‘ग्लोबल प्रिजेन्स अवार्ड’, एजुकेसन पार्क – ‘इन्टरनेसनल रिकग्निसन अवार्ड’, राइट पाथ – ‘लिडिङ मल्टि डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’, ओली एण्ड एसोसिएट्स – ‘पायोनियर इन अष्ट्रेलियन एजुकेसन’ अवार्ड प्राप्त गर्न सफल भए। ‘इमर्जिङ कन्सल्टेन्सी इन नेपाल’ विधामा भिरा, वेद इन्टरनेसनल र अप्टिमस ग्लोबल एजुकेसन सम्मानित भए।

कार्यक्रमको प्रारम्भमा ‘के नेपाल शैक्षिक हब बन्न सक्छ ?’ विषयक प्यानल छलफल समेत गरिएको थियो। छलफलमा पूर्व शिक्षामन्त्री विद्या भट्टराई, सांसद अम्मरबहादुर थापा, गेट कलेजका सिइओ खेमराज लकाई र इक्यान अध्यक्ष शेषराज भट्टराईले नेपालको शिक्षा प्रणाली सुधार गर्न सबै पक्षको समन्वय आवश्यक रहेको धारणा राखेका थिए।