सिद्धार्थ बैंकको ‘एसबिएल डिबेञ्चर २०९१’ मा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
बैंकले १० वर्ष अवधि भएको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र जारी गरेको हो।
प्रतिकित्ता एक हजार अंकित दरमा कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गरिएको छ, जसको कुल मूल्य २ अर्ब ५० करोड रुपैयाँ बराबर हुन्छ।
जारी गरिएको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबर) संस्थागत तवरबाट निजी रूपमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १० लाख कित्ता (१ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ।
सार्वजनिक निष्कासनमा छुट्याइएका १० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषहरू (म्युचुअल फण्ड) का लागि छुट्याइएको छ।
यस ऋणपत्रमा लगानी गर्न चाहने व्यक्तिहरूले न्यूनतम २५ कित्ताको आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण बाँडफाँट हुन बाँकी रहेको संख्याका लागि आवेदन दिन सकिने व्यवस्था छ।
बैंकको यो ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ।















