सेयर धितो कर्जामा आक्रामक बैंकहरूः १८ बैंकले बढाउँदा एकको मात्र घटयो, कसले कति दिए ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेयर धितो कर्जामा आक्रामक बैंकहरूः १८ बैंकले बढाउँदा एकको मात्र घटयो, कसले कति दिए ?



काठमाडौं । सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंकहरु निकै आक्रामक देखिएका छन् ।

२० वाणिज्य बैंकहरुले १० महिनामा १ खर्ब भन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । मार्जिन प्रकृतिको सेयर धितो कर्जा झन्डै ५५ प्रतिशत वृद्धि भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको १० महिनामा बैंकहरुले १ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यो गत आवको जेठ मसान्तसम्मको तुलनामा भने ५४.७३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले ६८ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सेयर धितो कर्जा प्रवाहमा नबिल र ग्लोबल आइएमई बैंक शीर्ष सूचीमा छन् । समिक्षा अवधिमा नबिलले सबैभन्दा धेरै १५ अर्ब ७ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेको छ । गत २०८१ को जेठमा बैंकले ११ अर्ब ४२ करोड रूपैयाँ धितो कर्जा प्रवाह गरेको थियो। यो गत आवको तुलनामा भने ३१.९४ प्रतिशत बढी हाे ।

यस्तै, ग्लोबल आइएमई बैंकले पनि ६३.५२ प्रतिशत बढाएर सेयर धिताे कर्जा ११ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा कुमारी बैंकले ९ अर्ब ४७ करोड शेयर कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १५ करोड रुपैयाँभन्दा १२८.१४% ले बढी हो।

यस्तै प्राइम कमर्सियल बैंकले ८ अर्ब १६ करोड शेयर कर्जा दिएको छ। अघिल्लो वर्ष ४ अर्ब ७ लाख रुपैयाँ थियो। यसमा १००.३ प्रतिशतको वृद्धि देखिन्छ।

सिद्धार्थ बैंकको शेयर कर्जा ४९.७४ प्रतिशत बढेर ५ अर्ब ६१ करोडबाट ८ अर्ब ४१ करोडमा पुगेको छ भने प्रभु बैंकले पनि ४ अर्ब ५२ करोड रुपैयाँ शेयर लोन दिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब २ करोड रुपैयाँभन्दा ४९.५७ प्रतिशत बढी हो।

यस्तै यस अवधिमा सानिमा बैंकले ८०.१४ प्रतिशत, लक्ष्मी सन्राइजकाे ८४.०७ प्रतिशत, कृषि विकास बैंककाे १४४.३४ प्रतिशत, एनआईएमबीको ७१.२५ प्रतिशत, सिटिजेन्स बैंक ४७.६२ प्रतिशत, एमबीएल बैंककाे १२१.३२ प्रतिशत, नेपाल एसबीआई बैंककाे ३९०.५१ प्रतिशत, एनएमबी बैंककाे १२१.३२ प्रतिशत, नेपाल बैंककाे २२ प्रतिशत, हिमालयन बैंककाे १८ प्रतिशत र एभरेस्ट बैंकको वृद्धि दर ३५.८३ प्रतिशत देखिएकाे छ ।

यस्तै यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले पनि ६ अर्ब ६ करोड रुपैयाँ शेयर लोन दिएको छ, अघिल्लो वर्ष ४ अर्ब १३ करोड रुपैयाँ मात्र थियो।

यता एनआईसी एसिया बैंककाे सेयर धिताे कर्जा प्रवाह भने ४८.४२ प्रतिशतले घटेकाे छ । यस एक वर्षको अवधिमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँबाट घटाएर २ अर्ब ९ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्