‘मोबिलिटी एक्स्पो नेपालको प्रिमियम अटो इभेन्ट हुने छ’
२०४६ सालको राजनीतिक परिवर्तत पछि नेपालमामा नेताहरुले खुब चढ्न थालेका गाडी हुन्, प्राडो र पजेरो । यी दुई ब्राण्ड त्यसताका प्रतिस्पर्धीजस्तै देखिन्थे । अचेल पजेरो त नेपाली सडकमा खासै देखिँदैन । तर प्राडोप्रतिको लगाव उस्तै छ ।
प्रसिद्ध जापानी ब्राण्ड टोयोटाको यो गाडी विगत ६४ वर्षदेखि वैद्य घरानाले नेपाल भित्र्याउँदै आएको छ । टोयोटा बेच्ने कम्पनी युनाइटेड ट्रेडर्स सिण्डिकेटकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य भर्खरै खुलेको नयाँ संस्था ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसियसन (नाइमा)’को अध्यक्ष छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको अर्धाङ्गिनी भएरमात्रै होएन, उनको अलग्गै पहिचान पनि छ । उनी सन् १९९१ की ‘मिस इण्डिया वल्ड’ विजेता हुन् भने त्यसै सालको ‘मिस वल्ड’मा छैटौँ स्थान हासिल गरेकी सुन्दरी हुन् ।
सौन्दर्यताको पृष्ठभूमिबाट आएर नेपालमा ब्यापार सम्हालेकी उनीसँग अर्थपथले नयाँ संस्थाको औचित्य, भूमिका र नाइमाले आयोजना गर्न लागेको अटो इभेन्ट तथा केही नीतिगत पाटाहरुमा रहेर गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपालजस्तो सानो बजारमा अटोमोबाइल क्षेत्रका लागि दुइवटा छुट्टाछुट्टै संस्था किन आवश्यक पर्यो ? नाइमाको उद्देश्य नाडाभन्दा के भिन्न छ ?
नाइमाको स्थापना एक विशेष आवश्यकता अनुसार गरिएको हो । यस संस्था विशेष रूपमा सवारीसाधन आयातकर्ता (इम्पोर्टर) र निर्माता (निर्माता) हरूको हितका लागि गठन गरिएको हो ।
यसका कार्यक्रमहरू र प्राथमिकताहरू सवारीसाधनको निर्माण, प्रविधि, गुणस्तर, कर प्रणाली र व्यवसायमैत्री नीतिहरूमा केन्द्रित छन् ।
तर नाडा एउटा व्यापक संरचना भएको संगठन हो । त्यहाँ धेरै किसिमका स्टेकहोल्डर्स, पार्टनर्सहरु छन् । तर नाइमाको ध्यान विशुद्ध रूपमा अटोमोबाइल निर्माता र आयातकर्ताहरूको एजेण्डालाई स्पष्ट रूपमा अगाडि ल्याउनेतर्फ केन्द्रित छ ।

नाडाले आयातकर्ता र उत्पादकका चासोलाई उचित ठाउँ दिन सकेन भन्न खोज्नुभएको हो ?
‘ठाउँ दिन नसक्नु’को भन्दा पनि साझा ठाउँमा काम गर्नु परेपछि सबै पक्षलाई आफ्ना आवश्यकता अनुसार पर्याप्त ध्यान दिन सकिन्न। जब साझा मञ्चमा धेरै सरोकारवाला हुन्छन्, त्यहाँ हरेक पक्षको एजेन्डा समान रूपमा उठाउन कठिन हुन्छ।
त्यसैले यस्तो संस्था खडा गर्नुको मुख्य उद्देश्य नै यही हो कि, हामी आयातकर्ता र उत्पादकहरूको पक्षमा केन्द्रित भएर काम गर्छौँ । विशेष रूपमा त्यही क्षेत्रको हितका विषयमा काम गर्न सक्छौं। हाम्रो काम, ध्यान, र प्रयत्न सबै त्यसैमा केन्द्रित होस भन्ने हो ।
अहिले केही कम्पनीले नेपालमा एसेम्बल सुरु गरिसकेका छन्। तपाईँहरूले एसेम्बलिङ्गको सन्दर्भमा पनि सरकारसँग केही माग वा प्रस्ताव राख्नुभएको छ ?
एसेम्बलिङ्गको सन्दर्भमा तपाईंले भनेजस्तै दुई पाङ्ग्रे सवारी क्षेत्रमा अहिले ४–५ वटा कम्पनीहरू भइसकेका छन्। चार पाङ्ग्रेमा अहिले ह्युन्डाईले एसेम्बल गरिरहेको छ।
एसेम्बल गर्नका लागि चाहिने केही महत्वपूर्ण पक्षहरू छन्। त्यसको लागि बजारको माग ठूलो हुनु आवश्यक हुन्छ। किनभने, जब तपाईँले उद्योग स्थापना गर्नुहुन्छ, धेरै मानिसहरूलाई रोजगारी दिनुहुन्छ, धेरै संरचना ल्याउनुहुन्छ, त्यो सबैको लागत उच्च हुन्छ। यस्तो अवस्थामा तपाईँले सिधै सवारीसाधन आयात गरेर बिक्री गर्नु र नेपालमै एसेम्बल गरेर बिक्री गर्नुको बीचमा एउटा सन्तुलन हुनुपर्छ।
यदि त्यो सन्तुलन लाभदायक हुन्छ भने मात्रै एसेम्बलिङ्गको अर्थ रहन्छ। एकसाथ ठूलो संख्यामा वस्तु उत्पादन गर्न सकेको खण्डमा मात्रै नाफा कमाउन सम्भव हुन्छ। त्यसैले धेरै प्रिमियम गाडी नेपालमा एसेम्बल सम्भव छैन ।
ह्युन्डाईले एसेम्बल गरेको छ । तर बीएमडब्लुले गर्न सक्दैन होला, किनभने उसको बिक्री संख्या कम हुन्छ ।
त्यसैले एसेम्बलिङ्ग गर्ने निर्णय पूर्णतः कम्पनीको आवश्यकता अनुसार, बजारको आकार अनुसार र आर्थिक सम्भाव्यता हेरेर लिइन्छ। यसमा दुई पाङ्ग्रे सवारीको क्षेत्रमा भने अझ बढी एसेम्बलिङ हुने सम्भावना देखिन्छ।

अटोमोबाइल क्षेत्रमा दुई संस्था समानान्तर सञ्चालन हुँदा यो वर्ष अटो एक्स्पो पनि दुई पल्ट हुँदैछ। यसले ग्राहक र नियामक निकायहरू अलमलमा पर्ने त होइन?
हुन त यस्तो द्विविधा आउन सक्छ, तर नाइमाले आयोजना गर्ने अटो शो मुख्यतः चार पाङ्ग्रे र दुई पाङ्ग्रे्रे सवारीसाधनका ब्रान्डहरूमा केन्द्रित हुन्छ। विशेषतः गाडी उत्पादन गर्ने र आयात गर्ने कम्पनीहरूको प्रतिनिधित्व गर्छ ।
तर तपाइँ नाडाको एक्सपोमा जानुभयो भने त्यहाँ सवारीसाधनका स्पेयर पाट्र्स, एसेसोरी, मोबिल आयल लगायतका पूरक वस्तुहरूसमेत देख्नुहुन्छ । त्यसैले यी दुईटा मेलाहरु छुट्टाछुट्टै ढंगको प्रस्तुत गरिन्छ ।
यसरी हेर्दा दुवैको आफ्नो–आफ्नो विशेषता र विशिष्टता छ। भविष्यमा यदि सहकार्यको सम्भावना देखियो भने—सिनर्जी बन्यो, संवाद भयो भने—दुवै संस्था एक ठाउँमा आउन पनि सक्छन्। तर त्यो भविष्यको कुरा हो।
नाइमामै पनि अझै केही आयातकर्ताहरू समावेश हुन बाँकी छन् । उनीहरुलाई अलग्याइएको हो कि विस्तारै समेट्दै जानुहुन्छ?
नाइमा बनिसकेको संस्था हो । र यो स्पष्ट रूपमा आयातकर्ता र निर्माता कम्पनीहरूको साझा संगठनका रूपमा स्थापित भइसकेको छ। नाइमामा धेरै आयातकर्ताहरु आइसक्नु भएको छ । कतिपय आउन बाँकी नै हुनुहुन्छ ।
अहिले पनि हामी बाँकी रहेका आयातकर्ताहरूलाई आह्वान गरिरहेका छौं। हामी सबैलाई स्वागत गर्छौं। हामी कुनै एउटा समूह मात्रको संस्था होइनौं। जब, जहाँ, जसलाई उपयुक्त लाग्छ, हामीसँग आबद्ध हुन सक्नुहुन्छ।
सबै आयातकर्ता र उत्पादकहरूको प्रतिनिधित्व गर्नु नै हाम्रो मूल उद्देश्य हो।
यहाँहरूले जुन ‘मोबिलिटी एक्सपो’ को तयारी गरिरहनु भएको छ, त्यसमा खास के हुन्छ? के यो विगतमा नाडाले आयोजना गर्दै आएको एक्स्पोभन्दा भिन्न हुनेवाला छ ?
यस पटकको मोबिलिटी एक्सपोलाई पहिलेभन्दा अझ स्तरीय र आकर्षक बनाउने हो। हामी यो कार्यक्रम एकै स्थान—भृकुटीमण्डपमा गरिरहेका छौं। त्यसैले त्यही स्थानलाई कसरी प्रयोगकर्ताका लागि अझ रमाइलो, आकर्षक र व्यवस्थित बनाउन सकिन्छ भन्नेमा हामी विशेष ध्यान दिइरहेका छौं।
यस एक्सपोमा केवल गाडी देखाउने मात्र होइन, विभिन्न सिकाइमुखी कार्यक्रम (लर्निङ प्रोग्राम), इन्टरेक्टिभ सेसन पनि राख्नेछौं। पार्किङ व्यवस्थादेखि भ्रमणको अनुभवसम्म सुधार ल्याउने योजनामा छौं।
हामी उपभोक्तालाई एउटा फरक अनुभूति दिन चाहन्छौं। यस पटकको मोबिलिटी एक्स्पो ‘पहिलो संस्करण’ भएकाले हामी यो एउटा अनुभवमुखी कार्यक्रम होस् भन्ने चाहन्छौं । जसले दर्शकहरूलाई रमाइलोका साथै ज्ञान पनि देओस्।
हामी चाहन्छौं, एक्सपोमा जो पनि आउँनुहुन्छ, चाहे ती १२ वर्षका बाइक–प्रेमी बालक हुन्, वा आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न गाडी हेर्न आएका युवाहरू, सबैलाई त्यो ठाउँमा एउटा मेला जस्तो अनुभव होस् ।
सबैलाई रमाइलो लागोस् र सवारीसाधनको पूरै पोर्टफोलियो बुझ्न र हेर्न पाइयोस् भन्ने हाम्रो अपेक्षा छ । त्यहाँ मानिसहरुलाई मनैदेखि गाडी हेरेको अनुभूति होस्।
हुन त भृकुटीमण्डपको भौतिक अवस्थाका केही आफ्नै समस्या छन्, जुन हामीले महशुस गरेका छौं। तर त्यो स्थानलाई पनि सकेसम्म उपयोग गर्दै दर्शकका लागि सन्तुष्टिदायक अनुभव दिने हाम्रो प्रयास हुनेछ।
अब हामी कार्यक्रमको एकदमै नजिक आईसकेका छौं। एक–दुई हप्ताभित्र हामी यसको विस्तृत जानकारीसहित सार्वजनिक रूपमा सबैलाई आमन्त्रण गर्नेछौं। त्यसमा के–के हुनेछ, किन आउनु पर्छ, के अपेक्षा गर्न सकिन्छ, सबै कुरा विस्तृत रूपमा बताइने नै छ ।

नयाँ बजेटमा अटोमोबाइल क्षेत्रका केही नीतिगत प्राथमिकताहरु बदलिएको देखिन्छ । यस्तो बेला नाइमाले राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत नीति निर्माण गर्ने निकायहरूसँग के–कस्ता प्रस्ताव वा माग राखेको छ?
हो, बजेट आउँदा नै नाइमाले सरकारसँग स्पष्ट रुपमा केही मागहरू राखेको थियो। विद्युतीय सवारीमा कर नबढाएको निर्णयलाई हामीले सकारात्मक रूपमा स्वागत गर्यौं। तर, आइसिईदेखि हाइब्रिड सवारीसाधनको विषयमा भने बजेटमा केहि कुरा नै आएन ।
त्यतातिर न सरकारको स्पष्ट नीति देखियो, न कुनै सक्रीय प्रतिक्रिया आयो। यसले यी सेग्मेन्टहरूलाई उपेक्षित बनाएको अनुभूति भयो। त्यसका साथै, नेपालमै सवारी एसेम्बल गर्न थालेका निर्माता कम्पनीहरूको पक्ष पनि बजेटमा नसमेटिनु एक कमजोरी रह्यो।
यता मौद्रिक नीतिले पनि नाइमाले दिएका महत्वपूर्ण सुझाव र मागहरू सम्बोधन गर्न सकेन । पहिलो, गाडी खरिदमा ग्राहकलाई ८० प्रतिशतसम्म बैंकले कर्जा दिने व्यवस्था पुनःलागू गरियो भने अटोमोबाइल क्षेत्रलाई ठूलो मद्दत पुग्ने थियो।
दोस्रो, लेटर अफ क्रेडिटको सन्दर्भमा हामीले यस्तो व्यवस्था माग गरेका छौं, जसअनुसार उत्पादन गर्ने देशको मुद्रा प्रयोग गरी एलसी खोल्न पाइयोस्।
उदाहरणका लागि, युरोप वा अमेरिका आधारित ब्रान्डहरूको उत्पादन भारत वा चीनमा हुने भएकाले त्यहाँको मुद्रा प्रयोग गर्न पाउनु उपयुक्त हुन्छ।
तेस्रो, ‘थर्ड मनी’ भनिने विषयमा पनि हामीले स्पष्ट व्यवस्था माग गरेका थियौँ । जुन मौद्रिक नीतिले सम्बोधन गर्न सकेन । जसले गर्दा अन्तर्राष्ट्रिय कारोबार गर्दा ब्रान्डको देश होइन, उत्पादनको देशसँग सिधा कारोबार गर्न असहज हुने गरेको छ ।
यी सबै प्रस्तावहरू नाइमाले राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत नीति निर्माण गर्ने सम्बद्ध निकायहरूमा प्रस्तुत गरिसकेको छ। हाम्रो उद्देश्य भनेको नीति निर्माताको ध्यान अटोमोबाइल क्षेत्रको समग्र विकासतर्फ केन्द्रित गराउनु हो, ताकि यस उद्योगले देशको अर्थतन्त्रमा थप योगदान दिन सकोस्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अटोमोबाइल क्षेत्रमा लागू गर्न लागेको नयाँ कानूनको विषयलाई लिएर बजारमा चर्चा चुलिएको छ । त्यसमा नाइमाको धारणा के हो ?
पहिलो कुरा त सरकारले यस विषयलाई सम्बोधन गर्ने प्रक्रिया थालेको देखिनु स्वयं स्वागतयोग्य कदम हो। नाइमाबाट यो विषयमा हालसम्म चारपटक छलफल भइसकेको छ। हामीसँग सम्पूर्ण आयातकर्ता र निर्माता कम्पनीहरू आवद्ध छन् । उनीहरूले यो ऐनको प्रस्तावप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
हामीले देखेको मुख्य समस्या भनेको मस्यौदामा अत्यधिक “माइक्रो म्यानेजमेन्ट“ गर्न खोजिएको हो। उदाहरणका लागि, १० वर्षका लागि सबै स्पेयर पाट्र्स स्टक राख्नुपर्ने भन्ने प्रस्ताव व्यावहारिक होइन।
कहिलेकाहीँ कुनै सवारीको एक–दुईवटा विशिष्ट पाट्र्स मात्र आवश्यक पर्छ, जुन सामान्य रूपमा स्टकमा राखिँदैन। यस्ता पाट्र्स जापान वा अन्य मुलुकबाट आयात गर्न समय लाग्छ । जहाँजमार्फत ल्याउँदा त झनै दुई महिनासम्म लाग्न सक्छ।
त्यस अवस्थामा, यदि गाडी ६ दिनभित्र मर्मत भएन भने उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव पूर्णतः अव्यावहारिक र एक–पक्षीय देखिन्छ।
व्यवसायिक सेवा दिनका लागि हामीकहाँ आवश्यक सबै तयारी गरिएको हुन्छ। उदाहरणका लागि, हाम्रो वर्कशपमा जुनसुकै समयमा झन्डै ५,५०० वटा स्पेयर पाट्र्स उपलब्ध हुन्छन्, जुन फास्ट रनिङ, मिडियम रनिङ र लङ टर्म भनेर वर्गीकृत गरी राखिएको हुन्छ।
तर, यति ठूलो तयारी हुँदाहुँदै पनि कहिलेकाहीँ विशेष प्रकृतिका, अत्यन्तै दुर्लभ र अप्रत्याशित समस्या आउने गर्छन् । जसको पाट्र्स तत्काल उपलब्ध नहुन सक्छ। जस्तो कि टोयोटाजस्ता ब्रान्डमा इन्जिनको समस्या प्रायः नआए पनि कुनै असाधारण समस्या आयो भने, त्यसको पाट्र्स जापान वा अन्य मुलुकबाट मगाउनुपर्छ, जसमा समय लाग्छ।
गत वर्ष बाढीले गाडीहरू डुबायो, जसमा फुल वायर हार्नेसजस्ता विशेष पाट्र्स नै परिवर्तन गर्नुप¥यो । ती सामान मगाउन महिनौं लाग्यो। यस्तो अवस्थामा तत्काल मर्मत सम्भव नहुनु व्यावसायिक कमजोरी होइन, परिस्थिति विशेषले सिर्जित असहजता हो।
त्यसैले, कानुनले यथार्थ बुझेर, उद्योगमैत्री र व्यवहारिक ढंगले नीतिहरू निर्माण गर्नुपर्छ ।
हामीले सरकारलाई भनिरहेका छौं कि, यस प्रकारको कानून आवश्यक छ । तर त्यसमा ‘गाइडलाइन’ चाहिन्छ, न कि सूक्ष्म रूपमा व्यवसायको प्रत्येक पाटो नियन्त्रित गर्ने प्रयास।
हामी आफैँ ग्राहकको सेवा, गुणस्तरीय काम र दीर्घकालीन सन्तुष्टिलाई प्राथमिकता दिन्छौं। त्यसैले हाम्रो मुख्य माग यो हो कि, नीतिहरू यथार्थमा आधारित, लचिलो, व्यवसायमैत्री र कार्यान्वयन गर्न सकिने होऊन्।
मन्त्रालयले हाम्रो सुझाव मागेको छ र यो मस्यौदा अझै अन्तिम निर्णयमा पुगेको छैन। प्रतिक्रिया संकलन गरेर फेरि अध्ययन गर्ने बताइएको छ, जुन सकारात्मक संकेत हो।
तर अहिले देखिएको प्रस्ताव अत्यधिक जटिल र अव्यावहारिक ढंगले आएको हुँदा हामी त्यसमा सुधारको आवश्यकता देख्छौं।

तपाईं लामो समयदेखि टोयोटा ब्रान्ड नेपालमा बिक्री गर्दै आइरहनुभएको छ, विगतका नाडा अटो शोमा टोयोटा कम देखापथ्र्यो। यसपटक तपाईं आफै अध्यक्ष भएकै कारण त्यसमा जानू पर्ने बाध्यता महसुश गर्नुहुन्छ?
विगतमा हाम्रो सहभागिता दुई पटक मात्रै रह्यो। पहिलो वर्ष हामी सहभागी नै हुन सकेनौं, र दोस्रो पटक कोभिडको ठीकपछि थियो। त्यसबाहेक, हामी प्रायः सहभागि भइरहेका छौं। यसलाई सामान्यिकरण गर्न मिल्दैन ।
अघिल्लो पटक गाडीको स्टक सकिएको थियो । नयाँ मोडेल डिसेम्बरमा मात्रै आउने भएको कारण सहभागिता जनाउन सकेका थिएनौं । त्यसैले अर्काे वर्ष पर्खिनु परेको थियो ।
यसपाली हामी पक्कै जान्छौं । किनभने यस वर्ष आधिकारीक रूपमा २४० ब्राण्ड नेपाल भित्रिसकेका छन् । तर मेलामा ५० वटाभन्दा बढी स्टल राख्न मिल्दैन। त्यसैले, १०० वटा गाडी देखाउनका लागि दुईवटा एक्स्पो त चाहिने नै भयो।
फरक–फरक ब्रान्ड र मोडलका गाडीका लागि अलग अलग स्टल राख्न पर्ने हुन्छः जस्तै सब–ब्रान्ड “चेरी” भित्र ५ वटा जेनेरेसन नभएको अवस्थामा छुट्टै स्टल बनाउने व्यवस्था, वा “हाइलक्स”सहितका फरक मोडलका लागि छुट्टै प्रस्तुति।
यसका लागि विभिन्न श्रेणीका मोबिलिटी एक्स्पो आयोजना गर्न अनिवार्य छ। त्यसैले अब यसपाली प्रिमियम स्तरका ग्राहकहरू कहाँ आउँछन् भन्ने हिसाबले हेर्दा, नाइमा भेट्नुहुन्छ ।
अहिलेको अवस्था हेर्दा टोयोटाको बजार स्थिति कस्तो छ?
टोयोटा एउटा यस्तो ब्रान्ड हो, जसको मूल मूल्यहरू—गुणस्तर, दिगोपन र विश्वसनीयताप्रति ग्राहकको अपार विश्वास छ।
हामीले विश्वास गर्छौँ, यी मूल्यहरूलाई समातेको गाडी छाडेर ग्राहकहरू सजिलै अरू ब्रान्डतिर जाँदैनन्। टोयोटा गाडी किन्ने ग्राहकको एउटा वर्ग हुन्छ, जसले गाडीलाई केवल सवारी साधनको रूपमा होइन, जीवनशैलीको प्रतीकको रूपमा हेर्छ।
टोयोटाको ब्रान्ड मूल्य यति मजबुत छ कि, कुनै पनि दिन मानिससँग जब खरीद क्षमताको अवसर आउँछ, ऊ टोयोटा रोज्छ। त्यसको कारण के हो भने, टोयोटा गाडी वर्षौँसम्म भरपर्दो हुन्छ । यो त ५० वर्षपछि पनि चलाउने अवस्थामा रहन्छ।
टोयोटाजस्तो ब्रान्डको प्रतिनिधित्व गर्ने मौका पाउनु हाम्रो सौभाग्य हो। किनभने अन्य ब्रान्डको गाडी बेच्दा ग्राहकलाई धेरै कुरा बुझाउनुपर्छ, विश्वस्त तुल्याउनुपर्छ। टोयोटाको हकमा ग्रहकलाई कन्भिन्स गर्नु पर्दैन । यो गाडी आफैँ विश्वस्त तुल्याउने खालको छ।
तर बजारको अवस्थामाथि सरकारको नीतिले गहिरो प्रभाव पार्दछ। अहिले सरकारको नीति यस्तो छ कि, पूर्ण रूपमा विद्युतीय सवारीलाई मात्र प्राथमिकता दिइएको छ । करको दरदेखि नीति–नियमसम्म।
तर आइसिई र हाइब्रिड गाडीलाई हेर्ने दृष्टिकोणमा ठूलो अन्तर छ। यसले गर्दा बजारमा केही हदसम्म कृत्रिम सिफ्ट आएको हो।
यद्यपि, आज पनि तपाईंले बराबरी मापन गरेर हेर्नुभयो भने टोयोटा गाडी जहाँको त्यहीँ उभिएको देख्नुहुने छ । गुणस्तरमा, भरोसामा, अनि दीर्घकालीन सन्तुष्टिमा। त्यसैले हामीलाई विश्वास छ, टोयोटाको बजार नेपालमा अझै बलियो छ र ग्राहकको मनमा गहिरो स्थान बनाइरहेको छ।

गाडी आयात मात्र होइन, त्यसको बिक्री, सेवा र आवश्यक पूर्वाधार निर्माण पनि अनिवार्य हुन्छ । नाइमाको प्राथमिकता केवल आयातमा सहुलियत खोज्नमै सीमित छ कि, यस सम्बद्ध पूर्वाधार विकासमा पनि सोच र योजना बनाइरहनु भएको छ?
हामीकहाँ पूर्वाधारको कुरा अब प्राथमिकतामा मात्र होइन, प्रायः पूरै तयारीमै छ। हाम्रो कम्पनीको मूल संरचना नै यस्तो छ, जसमा गाडीको आयातसँगै बिक्री, सेवा, स्पेयर पाट्र्स, ग्राहक सन्तुष्टि र कर्मचारी तालिमसम्म सबै कुराको तयारी रहन्छ।
हाम्रो मातृ कम्पनीले यति स्पष्ट र कडा मापदण्ड तोकेको छ कि, कुनै पनि गाडी भित्र्याउनु अघि हामीले कर्मचारी तालिमदेखि लिएर आवश्यक स्टक, वर्कशप तयारी, स्पेयर पाट्र्सको स्टोरिङ्ग स्तर, सबै थरिका इनफ्रास्ट्रक्चर तयार पारिसकेको हुनुपर्छ।
हामीले कहिल्यै पनि अहिलेलाई नगरौँ भन्न पाउँदैनौँ । उहाँहरूको गाइडलाइन अनुसार सबै प्रक्रिया पालना गर्नु हाम्रो प्रतिबद्धता पनि हो ।
अझ, केही नयाँ ब्रान्ड वा एसियन बजारका कम्पनीहरूले यस्तो पूर्वाधारमा खास ध्यान दिँदैनन् । न त तिनीहरूसँग स्पष्ट एसओपी (स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिजर) नै हुन्छ।
तथापि, हामी त्यो बाटो हिँड्दैनौँ । हामी गाडी बेच्ने मात्र नभएर त्यसलाई दीर्घकालीन रूपमा विश्वासयोग्य सेवा दिन सक्ने आधार निर्माण गरियोस् भन्ने चाहान्छौं । त्यसैले ग्राहकले सधैं हामीमाथि भरोसा गर्न सकून् भन्ने सोचले हामी इम्पोर्टर्स मात्र होइन, गाडी सम्बन्धी सम्पूर्ण इकोसिस्टमको जिम्मेवारी लिन्छौँ ।
नेपालको अटोमोबाइल क्षेत्रको भविष्य कस्तो देखिन्छ?
नेपालको अटोमोबाइल क्षेत्रले अत्यन्त रोमाञ्चक भविष्यतर्फ पाइला टेकिरहेको छ। वास्तवमा, टोयोटाको ट्यागलाइन नै ‘द चेन्ज अफ द मिलेनियम’ हो, जुन अहिलेको यथार्थलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्छ।
हिजोको दिनमा हामी पेट्रोल र डिजेल गाडीहरूमा निर्भर थियौं। त्यसपछि प्रविधिको प्रगति हुँदै हाइब्रिड गाडी आए, अहिले इलेक्ट्रिक गाडीहरू लोकप्रिय हुँदै गएका छन्।
अब, टोयोटाजस्ता ब्रान्डहरूले हाइड्रोजनबाट चल्ने गाडी निर्माण गरिरहेका छन्, अनि फ्लाइङ कारको प्रोटोटाइप समेत विकास गरिसकेका छन्।
यो परिवर्तनको गति यस्तो छ कि, अबको १०–१५ वर्षमा हामी कहाँ पुग्छौं भन्ने कल्पना गर्न पनि कठिन हुन्छ। अटोमोबाइल केवल यातायातको माध्यम होइन, अब यो प्रविधिको भविष्य र वातावरणीय सन्तुलनको संयोजन बन्न गइरहेको छ।

अब तपाईंले नाइमाको नेतृत्वमा कति वर्ष काम गर्नुहुन्छ ?
नाइमाको संरचनाअनुसार पहिलो अध्यक्षको कार्यकाल आदर्श रूपमा दुई वर्षको हुन्छ। यसको मुख्य कारण यो हो कि, संस्थाको सुरुआती चरणमा एक वर्षजति त सेटअप गर्नमै लाग्ने हुन्छ।
नीति, प्रक्रिया, संरचना सबै मिलाउनुपर्ने हुन्छ। त्यसैले शुरुका वर्षहरूमा निरन्तरता र स्थायित्वको लागि चुनाब बिना नै सहमतिमा नेतृत्व परिवर्तन गर्ने कुरा पनि गरिएको छ।
नाइमा जस्तो नयाँ संस्था राजनीतिभन्दा बाहिर रहोस्, उद्देश्यमा केन्द्रित रहोस् भन्ने सोचसहित मलाई नेतृत्वमा ल्याइएको हो। जहाँसम्म अटोमोबाइल्सको अनुभवको कुरा छ, म त यस क्षेत्रमा १७–१८ वर्षदेखि निरन्तर सक्रिय छु। त्यसैले यो नेतृत्व यात्रा पनि मेरो लागि जिम्मेवारीको निरन्तरता हो, जहाँ म उद्योगको समग्र हितमा योगदान दिन चाहन्छु।
तपाईं अटो मोबाइल क्षेत्रमा कसरी जोडिनु भयो, संक्षेपमा बताइदनिुस् न ?
म अटोमोबाइल क्षेत्रमा प्रवेश गर्नु योजना नभएर एक संयोग थियो । सन् २००९ को कुरा हो, त्यसबेला टोयोटाको नेपाल प्रतिनिधित्व हाम्रो परिवारले गरिरहेको थियो। सुरुमा मेरो ससुराले जिम्मेवारी सम्हाल्नु भयो, पछि सुरज सरले हेर्नुभयो।
तर स्वास्थ्य कारणले परिवारका वरिष्ठ सदस्यहरू अलि पछि हट्दै जानुभयो, र म अलिकति–अलिकति गर्दै अटोमोबाइलमा सक्रीय हुँदै गएँ। सुरुमा केही गाइडेन्स पाइयो, त्यसपछि जब सुरज सर नेपाल उद्योग वाणिज्य महासंघ तिर लाग्नुभयो, तब म यो जिम्मेवारी पूर्णरूपमा सम्हाल्न थालेँ।
म स्वतन्त्र रुपमा अटोमोबाइल क्षेत्रमा आइपुगेको होइन। यो हाम्रो परिवारको लिगेसी हो। टोयोटाले नेपालमा ६४ वर्ष पूरा गरिसकेको छ, र म त्यो विरासतको निरन्तरता सम्हालिरहेकी छु।
यद्यपि, मेरो शैक्षिक र व्यावसायिक पृष्ठभूमि अर्कै थियो । तर आज यो क्षेत्र मेरो पहिचान बनेको छ । म साँच्चिकै यसमा रमाएकी छु।
मेरो छोरा सूर्यांश अटोमोबाइलप्रति अझ बढी उत्साहित छ। टोयोटाको प्रत्येक विशेषता उसलाई थाहा छ । एथर ब्रान्ड त उसैले (आयात गर्न) सुरु गरिसकेको छ। मेरो भूमिका केवल मार्गदर्शकको हो ।















