५ बालबालिका सहित ४९ यात्रु सवार रूसी जहाज दुर्घटना, सबैको मृत्यु भएको आशंका
एजेन्सी । रुसको फार ईस्ट क्षेत्रको अमुर प्रदेशमा आज बिहान यात्रुहरू बोकेको एन्गारा एयरलाइनको एक विमान भीषण दुर्घटनामा परेको छ।
४९ जना सवार उक्त एएन-२४ ट्विन-टरबोप्रप विमान ट्यान्डा विमानस्थल नजिकै राडारबाट हराएको थियो।
दुर्घटनास्थल विमानस्थलदेखि करिब १६ किलोमिटर टाढा पहाडी जंगल क्षेत्रमा रहेको पुष्टि गरिएको छ। रुसको आपतकालीन मन्त्रालयका अनुसार, खोज र उद्धार कार्यमा खटिएको एमआइ-८ हेलिकप्टरले पहाडको ढिस्कोमा जलेको विमानको भग्नावशेष फेला पारेको डेलिमेलले उल्लेख गरेको छ।
रुसी समाचार संस्था तासका अनुसार, विमानका पाइलटहरूले पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि दोस्रो प्रयास गरिरहेका थिए। त्यही क्रममा उनीहरू नियन्त्रण टावरसँग सम्पर्कविहीन भएका थिए।
दुर्घटना हुनुअघि कुनै समस्या नदेखिएको बताइएको भए पनि धेरै बाक्लो कुहिरो, न्यून दृश्यता र जङ्गलले ढाकिएको भौगोलिक अवस्थाले घटनामा भूमिका खेलेको अनुमान गरिएको छ।
रुसी समाचार संस्था आरएआइ नोवास्तिले उद्धारकर्ताहरूका प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै उडानमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरूको मृत्यु भएको हुनसक्ने आशंका जनाएको छ।
विमानमा रहेका ४९ जनामध्ये ६ जना चालक दल र ५ जना बालबालिका यात्रु सूचिमा रहेका थिए।
५० वर्ष पुरानो विमान, २०३६ सम्मको उडान अनुमति
दुर्घटनामा परेको एएन-२४ विमान सन् १९५० को अन्त्यतिर सोभियत संघमा निर्माण गरिएको थियो। विशेषगरी रुसका दुर्गम क्षेत्रमा लामो समयदेखि यसलाई नागरिक उडानको लागि प्रयोग गर्दै आएको छ ।
सो विमान करिब ५० वर्ष पुरानो भए तापनि यसको उडान प्रमाणपत्र सन् २०३६ सम्मका लागि नवीकरण गरिएको थियो।













