वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, स्थानियका लागि थपियो अवधि
काठमाडाैं । बुङ्गल हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन हो।
यद्यपि, आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन दिने समय भने साउन २६ गतेसम्म लम्बिएको छ।
कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये, ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो।
तीमध्ये ६५ प्रतिशत शेयर अति प्रभावित क्षेत्र अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं ६ ९साविक पिपलकोट गाविस वडा नं ४, ५ र ७० र वडा नं ७ ९साविक कफल्सेरी गाविस वडा नं १०० का बासिन्दाहरूलाई वितरण गरिनेछ।
बाँकी ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्रअन्तर्गत बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।
यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरिरहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि छुट्याइएको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।













