सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओ बाँडफाँटपछि अब लघुवित्तले दोस्रो चरणमा आम लगानीकर्ताका लागि शेयर निष्काशन गर्न लागेको हो।
लघुवित्तले आफ्नो जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको थियो।
अब दोस्रो चरणमा लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबर हुन्छ।
सर्वसाधारणले यो आईपीओमा साउन ३० गतेदेखि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति छिटोमा भदौ ३ गते तोकिएको छ भने यदि पूरै आवेदन नपरेको खण्डमा म्याद भदौ १३ गतेसम्म लम्बिन सक्नेछ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ताबाट आवेदन दिन सक्नेछन् भने अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था गरिएको छ।













