दिव्यश्वरी हाइड्रोपावरले घटायाे नाेक्सानी, आम्दानीमा ११ प्रतिशत वृद्धि
काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ मा दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले नाेक्सानी घटाएकाे छ ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, समीक्षावधिमा कम्पनीको वार्षिक घाटा ८८.३६ प्रतिशतले घट्दै ४५ लाख ५४ हजार रुपैयाँमा झरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी घाटा बेहोरेको थियो।
गत वर्षको तुलनामा कम्पनीको आयमा उल्लेखनीय सुधार देखिएको छ। चौथो त्रैमाससम्म कम्पनीको बिजुली बिक्रीबाट प्राप्त आम्दानी ११.२२ प्रतिशतले वृद्धि भई ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
यसैगरी, कुल आम्दानी १०.९५ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ । सञ्चालनतर्फ जम्मा ८ करोड ४५ लाख रुपैयाँ बराबरको ग्रस प्रफिट हासिल गरेको कम्पनीको वित्तीय लागत भने ३२.१९ प्रतिशतले घटेर ४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ, जसले घाटा कम गर्न सहयोग पुर्याएको देखिन्छ।
समिक्षा अवधिमा प्रति शेयर आम्दानी (इपीएस) १.७३ रुपैयाँ ऋणात्मक छ भने प्रति शेयर नेटवर्थ ३.४० रुपैयाँमा खुम्चिएको छ, जुन अघिल्लो वर्ष ७.८२ रुपैयाँ थियो।
त्यसैगरी, जगेडा कोष र संकलित नाफा ऋणात्मक २५ करोड ५० लाख रुपैयाँमा झरेको देखिन्छ। तर घाटा न्यून हुँदै गएको, आम्दानी बढ्दै गएको र खर्च घटिरहेको संकेतले कम्पनीले आगामी त्रैमासहरूमा पुनः नाफामा फर्कने अपेक्षा गर्न सकिन्छ।













