रविको निवेदन माथिको बहस सकियो
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटा को १० नम्बर इजलासमा परेको उक्त पेशीमा बहस सकिएपनि अदालती आदेश भने आउन बाँकी छ ।
लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका छन् । उनले आफ्नो जमानतको लागि २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी दाखिला गर्दै सहकारी ठगीमा संलग्न नभएको तर्क गरेका थिए । उनले बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको दाबी समेत गरेका छन् ।
उक्त निवेदनमा १० नम्बर इजलासमा सुनुवाइ भएपनि आदेश लेखनको प्रक्रिया जारी रहेको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो, जुन आदेश सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।















