४१ प्रतिशत बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, कमायो ४ अर्ब ११ करोड, लाभांश क्षमता कति ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ४ अर्ब बढी नाफा कमाएको छ । बैंकले बिहीवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आवमा बैंकले २ अर्ब ९२ करोड ३लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने ४०.९७ प्रतिशत बढाएर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।
गत आवमा बैंकले ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा ७.९९ प्रतिशत कमी हो ।
बैंकले संचाल नाफा भने ३८.५५ प्रतिशत बढाएको देखिन्छ । गत आवमा बैंकको यस्तो नाफा ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ८६ लाख र कुल संचालन आम्दानी १४ अर्ब ६८ कराेिड ४६ लाख रुपैयाँ कायम भएको छ ।
यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई १३.३४ प्रतिशत लाभांश बाँड्न सक्ने हैसियत बनाएको छ । गत आवमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा बैंकको यस्तो नाफा १ अर्ब २४ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
बैंकले खराब कर्जामा पनि केही सुधार गरेको देखिन्छ । अघिल्लो वर्ष ४.६३ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने घटेर ४.२५ प्रतिशत कायम भएको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी पनि १६.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ कायम भएको छ । अघिल्लो आवको तुलनामा यी दुई सूचक बढेको हो ।
हाल बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १८ अर्ब ८ करोड ७१ लाख रुपैयाँ राखेको छ ।
बैंकको व्यवसाय पनि दोहोरो अंकमा बढेको देखिन्छ । गत आवमा बैंकको निक्षेप ११.५९ प्रतिशत बढेर ३ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ११.१७ प्रतिशत बढेर २ खर्ब ७५ करोड १ लाख रुपैयाँ पुगेको छ ।













