स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला
काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि खुला गरेको छ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो चरणको निष्काशन गरिएको हो।
लघुवित्तले आफ्नो जारी पूँजीको ४० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो।पहिलो चरणमा कम्पनीले १,१५५ कित्ता शेयर आफ्ना कर्मचारीका लागि, ११,५५० कित्ता सामूहिक लगानी कोषका लागि, र २३,१०० कित्ता विदेशमा रहेका नेपाली नागरिकका लागि छुट्याएको थियो।
अब दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि कुल १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको यो शेयर निष्काशनबाट लघुवित्तले १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
छिटोमा भदौ ३ गतेसम्म र ढिलाेमा भदौ १३ गतेसम्म आईपीओमा आवेदन दिन सकिने छ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५,००० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।













