काठमाडौं आइपुग्याे उड्ने ट्याक्सी र अत्याधुनिक रोबोट, नाडा अटो शो २०२५ मा देख्न पाइने
काठमाडाैं । भविष्यको मोबिलिटीको प्रतीकका रूपमा चिनिएका ‘डिपाल ई-भीटिओएल’ नामक उड्ने ट्याक्सी र अत्याधुनिक प्रविधियुक्त ‘युनिट्री’ नामका रोबोटहरू अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्।
सबै प्रकारका अवरोध, चुनौती र प्राकृतिक विपद्लाई पार गर्दै, असम्भवलाई सम्भव बनाउने ऐतिहासिक सफलता हासिल गरिएको नाडाले जनाएकाे छ।
तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक जोखिम र अनपेक्षित कठिनाइबीच पनि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले एक अद्वितीय उपलब्धिको घोषणा गरेको छ। यी प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिकरूपमा प्रदर्शनीको लागि तयार छन्।
यी अत्याधुनिक उपकरणहरू दर्शकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने मौका नाडा अटो शो २०२५ मा हुनेछ। यो प्रदर्शनी केवल सवारी साधन वा प्रविधि प्रदर्शनको कार्यक्रम मात्र होइन, नेपालले प्रविधिको क्षेत्रमा टेक्दै गरेको ऐतिहासिक पाइला हो।
१७ औं संस्करणको यो प्रदर्शनीले देशको नवीन सोच, प्रविधिमैत्री भविष्य र सम्भावनाहरूको ढोका खोल्नेछ। यसले नेपाली उद्योग र नवप्रवर्तनमा नयाँ प्रेरणा दिने विश्वास लिइएको छ।
उक्त कार्यक्रम २०८२ सालको भदौ ३ गतेदेखि ८ गतेसम्म (अनुसार १९ देखि २४ अगस्ट २०२५) काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ। यो ऐतिहासिक अवसरमा सहभागी भई नेपालको प्रविधिमूलक यात्राको साक्षी बन्न सबैलाई आमन्त्रण गरिएको छ।












