कल्पनाको दुनियाँमा पुर्‍याउने ‘नाडा अटो शो’ : गाडी हेर्न गएका, भविष्य देखेर फर्किए « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कल्पनाको दुनियाँमा पुर्‍याउने ‘नाडा अटो शो’ : गाडी हेर्न गएका, भविष्य देखेर फर्किए



काठमाडौं । काठमाडौंको भृकुटीमण्डप अहिले सधैंको जस्तो छैन । यहाँ गाडी मात्र छैनन्, प्रविधिको नयापन, सवारीको नयाँ सोच र यात्राको कल्पना सबै एउटै ठाउँमा मिसिएको छ । जहाँ भविष्य देखिन्छ ।

‘नाडा अटो शो–२०२५’ सुरु भएसँगै यो ठाउँ एक साधारण प्रदर्शनी मात्र नभई अनुभवको संसार बनेको छ । चम्किला कारहरू, स्मार्ट बाइकहरू, चाल पक्रिने रोबोटदेखि उड्ने सक्ने गाडी यी सबैले भृकुटीमण्डपलाई प्राविधिक मेलामा होइन, भविष्यको परिकल्पनामा प्रवेश गर्ने ढोका बनाइदिएका छन् ।

कसैले नयाँ मोडेल हेरेर बुकिङ गरिरहेका छन् । कसैले बच्चासँग सेल्फी खिच्दैछन्, कसैले आ–आफ्नो युट्युबका लागि भिडिओ बनाइरहेका छन् । उड्ने कारको अगाडि त फोटो तथा भिडियो खिच्नेहरूको लस्कर नै देखिन्छ, अवलोकनकर्ताहरु निकै अचम्मित परेका छन् ।

यस वर्षको ‘नाडा अटो शो’ केवल नयाँ गाडी देखाउने मेला नभई नेपालले कुन दिशामा यात्रा गर्न खोजेको छ भन्ने संकेत दिइरहेको छ । स्मार्ट, हरित र डिजिटल यात्रा तर्फको आत्मविश्वासी पाइला अघि बढाएको अनुभव हुन्छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा भइरहेको १७औं संस्करण को यो शो ‘गो फर मोर’ भन्ने नारासहित सुरु भएको हो । यस संस्करणले नाडाको ५०औं वार्षिकोत्सव पनि एकैसाथ मनाइरहेको छ । मंगलबार ‘नाडा अटो शो–२०२५’ प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटनसँगै भृकुटीमण्डप यतिबेला गाडी र प्रविधिको थ्रीडी संसारमा फेरिएको छ ।

यो शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ दुईपांग्रे ब्रान्ड र ३५ वटा अटो पाट्र्स, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय कम्पनीहरू सहभागी छन् । शोको प्रमुख आकर्षणमध्ये एउटा हो, डिपलले विकास गरेको उड्ने कार (ईभीटोल युएभी) । कारको जस्तो आकार, ड्रोनको जस्तो उडान । यसका अगाडि दर्शकको भिड बाक्लो छ ।

यस्तै, युनिट्री रोबोट्सको अत्याधुनिक चारपांग्रे रोबोट र ‘मेड इन नेपाल’ प्याभिलियन मार्फत स्वदेशमै निर्मित अटो पाट्र्स र प्रविधि पनि केन्द्रमा छन् । भिन्टेज कार प्रदर्शनीले पुरानो पुस्तालाई नस्टाल्जिया र नयाँ पुस्तालाई अटो इतिहासको झलक दिएको छ ।

यसपालिको शोमा ‘सस्तो ब्याजमा गाडी लोन’ चाहिँ अर्कै हिट विषय बनेको छ । अधिकारिक स्टलहरूमा बैंकका प्रतिनिधि ब्याजदर, कर्जा प्रक्रिया र मासिक किस्ता बन्दीको जानकारी दिँदै व्यस्त छन् । बैंकहरूबीच कुनले सस्तोमा दिन्छ भन्ने होड नै चलेको छ । अटो शोकै अवसर पारेर कृषि विकास बैंकले सबैभन्दा सस्तो ६.२३ प्रतिशत ब्याजदरमा लोन दिने घोषणा गरेको छ । नबिल बैंक ६.७४ प्रतिशत, ग्लोबल आइएमई र नेपाल एसबीआई ६.९९ प्रतिशत, हिमालयन बैंक ७.५७ प्रतिशत मा कर्जा दिइरहेका छन् । यता, एनएमबी, सानिमा र लक्ष्मी सनराइज बैंकले पनि ७–८ प्रतिशतको बीचमा स्थिर दरमा लोन योजना ल्याएका छन् । गाडी किन्नुअघि कति ब्याजमा लोन पाइन्छ भनेर स्टल चहार्ने ग्राहकको संख्या पनि उल्लेखनीय छ ।

नाडा शोको आज दोस्रो दिन पनि भीड कम भएको छैन । परिवारसहित आउने दर्शकदेखि टिनएजरसम्म सबैलाई फरक अनुभव दिएको यो प्रदर्शनीले अटो बजार मात्र होइन, नेपालको सवारी संस्कृतिमा पनि नयाँ मोड ल्याउने संकेत दिएको छ ।
अटो शो हेर्न आउने ग्राहक पनि निकै उत्साहका साथ आफ्ना प्रतिक्रिया दिइरहेका छन् । यही भिडमा भेटिएका हेमन्त राइ भन्छन्,‘टेक्नोलोजी हेर्न आएको थिएँ । उड्ने कार त अहिलेसम्मको मुख्य आकर्षण नै रहेछ । सबै इलेक्ट्रोनिक, एआई टेक्नोलोजीका गाडी देख्दा निकै खुशी लागेको छ ।’

नाडा अटो शोमा उनी म पहिलोपटक आएका व्यक्ति हुन् । उनी पनि अटो शोमा राखिएको उड्ने कारमै आकर्षित भएका बताउँछन् । ‘प्रविधिको हिसाबले यो नेपालकै ठूलो अटो शो भनेर सुनिएको थियो, त्यसैले नयाँ के छ भनेर हेर्न आएको, खासमा उड्ने कारले नै सबैको ध्यान तानेको रहेछ । ड्रोनजस्तो डिजाइन, तर साँच्चिकै अद्भुत ।’

डिपलको रोबोटिक सिस्टमदेखि एआई टेक्नोलोजी समेटिएका इलेक्ट्रिक कारहरूले नेपाल पनि प्रविधिमा धेरै अगाडि बढ्दै भन्ने अनुभव दिलाएको राइको तर्क छ । उनले भने,‘व्यवस्थापन राम्रै छ, एकै ठाउँमा थुप्रै नयाँ चिजहरू हेर्ने मौका पाइयो । यस्तो शो हाम्रो देशमा हुनु गर्वको कुरा हो । रमाइलो पनि लाग्यो, जानकारीमूलक पनि ।’

नाडा अटो शोले व्यवसायीलाई सोच बदल्न बाध्य बनाएको त्यही भिडमध्येका करण चौधरी बताउँछन् । चौधरी ट्राभल व्यवसायी हुन् । जसका पाँच गाडी छन् । उनी नयाँ मोडेल र प्रविधि हेर्न आएको बताउँछन् । पहिलोपटक अटो शोमा आएका उनी भन्छन्,‘चाइनिज गाडीहरू राम्रा छन् । तर स्पेयर पाट्र्सको पहुँच कम छ । सरकारबाट सेवा–सुविधा सुधार भए भने ईभी गाडीहरू अझ लोकप्रिय बन्छन् । नाडा शोले व्यवसायीलाई सोच बदल्न बाध्य बनाएको छ ।’

अटो शोमा राई र चौधरी जस्तो हजारौंको भिड छ । जहाँ सवारीको नयाँ मोडल र प्रविधिलाई नजिकबाट नियालीरहेका छन् । उक्त मेला अवलोकन गर्न आउने अधिकांश आगन्तुकले प्रविधिमै चासो दिएका छन् ।

धेरै नाडाको खुलेर प्रशांसा समेत गरेका छन् । तर, स्रेहाना राना जस्तो केही युवा आगन्तुकहरु भने अटो शोको व्यवस्थाप्रति अलि आलोचक देखिन्छन् । नाडाले गर्ने अघिल्ला वर्षहरुको शो निकै व्यवस्थित हुने गरेको उनको अनुभव छ । यद्यपि, अहिलेको शोमा नयाँ नयाँ प्रविधिहरुले आफ्नो ध्यान खिचेको उनको भनाई छ । उनी भन्छिन्,‘उड्ने कार हेर्न त आयौं, रमाइलो पनि लाग्यो । तर भिड निकै बढी छ । अघिल्ला वर्षको शो बढी व्यवस्थित लाग्थ्यो । अहिले व्यवस्थापनमा केही कम देखिन्छ ।’

शोमा ईभी, स्मार्ट मोबिलिटी, लजिस्टिक्स, अफ रोडिङ, टेक इनोभेसन लगायत विषयमा कार्यशाला, सेमिनार र अन्तरक्रियाहरू पनि भइरहेको छ । यस्ता छलफलहरूले नीति निर्माता, व्यवसायी र उपभोक्ताबीच खुला संवाद सुरु गराएको देखिन्छ । नाडा अटो शो आउने प्राय: आगन्तुकहरुले यो केवल कारहरुको मेला होइन नभई सवारी संस्कृति, प्रविधिको उत्सव र भविष्यप्रतिको झलक भएको अभिव्यक्ति दिइरहेका छन् ।

अटो शो अवलोकन गरेपछि फकिँदै गरेका एक व्यक्ति भन्छन्,‘गाडी हेर्न गएको थिएँ । तर, यहाँ प्रविधि र स्मार्ट सवारी साधनले नेपालको भविष्य देखाएको अनुभव लिएँ । उनी थप्छन्,‘यो मेला केवल गाडीको प्रदर्शन मात्र होइन, नेपालको स्मार्ट यात्रा र आधुनिक प्रविधि तर्फको प्रगतिको झल्को हो ।’

उनी र उनीहरु जस्ता ‘अटो शो’मा पुगेकाहरुको अनुभवले पनि उा् प्रदर्शनीले नेपाली अटो बजारमा मात्र होइन, आगामी यात्राको सोचमा समेत ठूलो प्रभाव पारिरहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्