८९ वटा हाइड्रोपावरको ‘ब्यालेन्स सिट’, कसको ‘नाफा–घाटा’ कति ?
काठमाडौं । जलविद्युत कम्पनीहरुको नाफा लगायतको वित्तीय चित्रमा बदलाव देखिएको छ । प्राकृतिक प्रकोपका बावजुद पनि कम्पनीहरुको नाफा, बिक्री आम्दानीमा सुधार गरेका छन् ।
हाल संचालनमा रहेकामध्ये साढे सात दर्जन कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीहरुको औसत नाफा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो वर्ष ती कम्पनीहरुको नाफा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९२ वटा कम्पनीहरु सूचीकृत छन् ।
गत वर्ष विभिन्न समयमा आएको बाढी तथा पहिरोका काराण धेरै जलविद्युत परियोजनाहरुमा ठुलो क्षति पुर्याएको थियो । कम्पनीले बाढी तथा पहिरोले जलविद्युत कम्पनीहरुको भौतिक संरचनामा व्यापाक असर गरेको थियो । त्यसका बावजुद पनि कम्पनीहरुको उत्पादनमा अवरोध नहुँदा बिजुली बिक्रीबाट हुने आम्दानी भने बढाएका छन् ।
गत वर्ष कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी १३.९३ प्रतिशत बढाएका छन् । अघिल्लो वर्ष कम्पनीहरुको यस्तो आम्दानी ३२ अर्ब ५६ करोड २३ लाख रुपैयाँ रहेको थियो । तर, गत वर्ष भने बढेर ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बराबरको बिजुली बेचेका छन् । यसरी बिक्री आम्दानी बढेपछि नै कम्पनीहरुको नाफाको चित्र धनात्मक बनेको हो ।
अधिकांश कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत वर्ष ५८ वटा कम्पनी नाफामा छन्, ३१ वटा कम्पनी भने नोक्सानीमा छन् । अघिल्लो वर्ष नोक्सानीमा रहेका अधिकांश कम्पनीहरु नाफामा उक्लिएका छन् भने धेरैले नाफा वृद्धिदर पनि बढाएका छन् ।
गत वर्ष सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा साहस उर्जा छ । कम्पनीको नाफा ११४.७५ प्रतिशत बढेर ९० करोड २७ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो सूचीमा रहेको चिलिमे हाइड्रोपावरले ६७ करोड ९५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, माउन्टेन इनर्जीले पनि ६२ करोड ९० लाख, अरुण भ्यालीले ४४ करोड ८१ लाख, अपि पावरले ४२ करोड ७६ लाख, सानिमा मिडल तमोरले ४० करोड ५५ लाख, ग्रीन भेन्चर्सले ३८ करोड ९६ लाख, राधी विद्युतले ३७ करोड ९८ लाख, सानिमा माईले ३२ करोड ३७ लाख, बुटवल पावरले २२ करोड ६१ लाख, अरुण काबेलीले १७ करोड १ लाख, सिंगटीले १४ करोड ९९ लाख, युनिभर्सलले १३ करोड ९९ लाख, मिड सोलुले १३ करोड २१ लाख, अपर सोलुले ११ करोड ५५ लाख र रिडी पावरले १० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । यी बोहकका ४२ वटा कम्पनीको नाफा १० करोडभन्दा कम छ ।
यी हुन नाफामा रहेका हाइड्रोपावर कम्पनीहरु

अपर तामाकोशीसहित ३१ कम्पनी नोक्सानीमै
वित्तीय अवस्थामा सुधारदेखिए पनि अझै ३१ कम्पनी भने नोक्सानीमै छन् । गत वर्ष पनि सबैभन्दा ठुलो घाटा अपर तामाकोशीले व्यहोरेको छ । कम्पनी २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ घाटामा छ । अघिल्लो वर्ष पनि २ अर्ब ५२ करोड ३३ लाख बढी घाटामा थियो ।
यस्तै, रसुवागढी हाइड्रोपावर पनि ४८ करोड ७७ लाख, माउन्टेन हाइड्रोपावर ४१ करोड ६० लाख, साञ्जेन जलविद्युतको २७ करोड ९३ लाख, पिपुल्स हाइड्रोपावर १५ करोड ७७ लाख, मोदी इनर्जी ९ करोड ४७ लाख, न्यादी हाइड्रोपावर ९ करोड ३३ लाख, राप्ती हाइड्रो ७ करोड ३७ लाख, दोर्दी खोला ७ करोड ५ लाख, पञ्चकन्या माई ६ करोड ८५ लाख, छ्याङ्दी ४ करोड ९७ लाख, पाँचथर पावर ४ करोड ६१ लाख, भिजन लुम्बिनी ४ करोड २७ लाख, लिवर्टी इनर्जी ४ करोड २७ लाख, मध्य भोटेकोशी ४ करोड १३ लाख र हिमाल दोलखा ४ करोड ३ लाख रुपैयाँ घाटामा छन् ।
यता, खानीखोला ३ करोड ४९ लाख, घलेम्दी ३ करोड ३३ लाख, त्रिशुली जलविद्युत ३ करोड ३ लाख, जोशी हाइड्रोपावर ३ करोड १७ लाख, भुगोल इनर्जी २ करोड ९९ लाख, दोल्ती पावर २ करोड ८८ लाख, एशियन २ करोड ८१ लाख, बुद्धभूमि नेपाल २ करोड २५ लाख र मनकामना इञ्जिनियरिङ हाइड्रोपावर २ करोड ७ लाख रुपैयाँ नोक्सानीमै छन् ।
यी हुन घाटामा रहेका हाइड्रोपावर कम्पनीहरु














