बजारमा म्युचुअल फन्डप्रति लगानीकर्ताको विश्वास र सहभागिता बढेको छ: रायमाझी
‘म्युचुअल फन्डको प्रतिफल राम्रो छैन’ भन्ने धारणा अहिलेको सन्दर्भमा पुरानो र अप्रासङ्गिक हुँदै गइरहेको छ। यो सोच अब परिवर्तन गर्न आवश्यक छ।
रमेन्द्र रायमाझी, सिइओ, एनआईसी एसिया क्यापिटल लिमिटेड
नेपालको पुँजी बजार र बैंकिङ क्षेत्रमा करिब एक दशकभन्दा बढीको अनुभव बटुलेका रमेन्द्र रायमाझी हाल एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन्। उनी वि.सं. २०७५ साल चैत १० गतेदेखि क्यापिटलको नेतृत्व सम्हाल्दै आएका छन् ।
रायमाझीले आफ्नो पेसागत यात्रा भारतीय अडिट फर्म अन्स्र्ट एन्ड योङ्ग ग्लोबलबाट सुरु गरेका थिए, जहाँ वरिष्ठ वित्तीय विश्लेषकको रूपमा झन्डै चार वर्ष काम गरे । त्यसपछिका ८ वर्षभन्दा बढी समय नेपालका अग्रणी वित्तीय संस्थाहरूमा काम गर्दै उनले इक्विटी रिसर्च, पोर्टफोलियो म्यानेजमेन्ट, फाइनान्स, ट्रेजरी र अन्य मर्चेण्ट बैंकिङ सेवामा विशेषज्ञता हासिल गरे ।
साढे ६ वर्ष एनआईसी एसिया क्यापिटलको सिईओका रूपमा, साढे २ वर्ष ग्लोबल आइएमई क्यापिटलमा, र साढे ४ वर्ष महालक्ष्मी विकास बैंकमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव उनीसँग छ ।
रायमाझीले बैङ्गलोर विश्वविद्यालयबाट एमबिए गरेका हुन् भने अमेरिकाको चार्टर्ड फाइनान्स एनालीसीस (सिएफए) कार्यक्रम अन्तर्गत लेभल–२ उत्तीर्ण गरेका छन् । यस्तै उनी बम्बे स्टक एक्सचेन्ज (बीएसई) बाट प्रमाणित ‘टेक्निकल एनालिस्ट’ समेत हुन् ।
रायमाझीको नेतृत्वमा एनआईसी एसिया क्यापिटलले अहिलेसम्म ६ वटा म्युचुअल फन्ड सञ्चालन गरिसकेको छ, र हाल कम्पनीले बजारमा ल्याउन लागेको ‘इक्विटी लिङ्कड इन्भेस्टमेन्ट स्किम (इलिस)’ सातौँ म्युचुअल फन्ड हो।
लगानी, अनुसन्धान र वित्तीय व्यवस्थापनमा उनको लामो अनुभव तथा रणनीतिक दृष्टिकोणले एनआईसी एसिया क्यापिटल देशकै अग्रणी लगानी व्यवस्थापन संस्था बन्न सफल भएको छ। इसै मेसोमा अर्थपथले उनीसँग विद्यमान बजार र नयाँ स्किमको बारेमा गरेको कुराकानीको अंश यहाँ प्रस्तुत छ ।
तपाईँहरूले ल्याउनु भएको पछिल्लो म्युचुअल फन्ड जन साधारणका लागि किन विशेष छ ? यसमा लगानी गर्दा के–कस्तो लाभ हुन्छ ?
अहिले हामीले ल्याएको म्युचुअल फन्ड एक न्यु फन्ड अफरिङ (एनएफओ) हो, जुन इक्विटी बेस्ड ओपन इण्डेड म्युचुअल फन्ड हो। नेपालमा हाल खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका म्युचुअल फन्डहरू सञ्चालनमा छन् र यो खुलामुखी योजनामा हो ।
खुलामुखी म्युचुअल फन्डको विशेषता के हो भने, यसमा लगानी गर्न वा पैसा फिर्ता लिन कुनै निश्चित समयसीमा हुँदैन। लगानीकर्ताले जुनसुकै बेला एकाइ (युनिट) खरिद वा फिर्ता गर्न सक्छन्, जसले गर्दा दीर्घकालीन लगानीकर्ताहरूका लागि यो निकै लचिलो र उपयुक्त हुन्छ।
अघिल्ला फन्डहरूमा प्रायः स्थिर आय उपकरणमा केन्द्रित थियो, जहाँ अपेक्षाकृत स्थिर तर सीमित प्रतिफल पाइन्थ्यो। यो नयाँ योजना भने इक्विटीसँग लिङ्क गरिएको छ, जसमा लगानीको अधिकतम भाग शेयर बजारमा सूचीकृत कम्पनीहरूमा जान्छ ।
केही हिस्सा मात्र मुद्दती र कल निक्षेपजस्ता सुरक्षित विकल्पमा राखिन्छ। यसले उच्च प्रतिफलको सम्भावना दिनेछ, यद्यपि अलिकति जोखिम पनि रहनेछ। यस्तो संरचना नेपालमा दीर्घकालीन धन सञ्चय गर्न चाहने लगानीकर्ताका लागि उपयुक्त विकल्प बन्न सक्छ।
यो फन्ड नेपालमा पहिलो पटक मिनी एसआईपी भनेर ल्याएका छौँ। यस अघिसम्म एसआईपी गर्न न्यूनतम लगानी १ हजार रुपैयाँ अनिवार्य लगानी गर्नु पथ्र्याे । तर अब यो फन्डले ५०० मात्रबाट मात्र पनि एसआइपी खरिद गर्ने सुविधा दिएको छ।
यसले साना लगानीकर्ता, विद्यार्थी, स्वरोजगारीमा रहेका व्यक्तिहरू, जसले महिनामा मात्र नभएर हप्तैपिच्छे थोरै थोरै रकम लगानी गर्न चाहनेहरूलाई आकर्षित गर्नेछ। यस्तो पहुँचले आम जनतालाई वित्तीय बजारमा सहभागी गराउने विशेष भूमिका खेल्ने छ ।
यस्तै हामीले भारतमा जस्तै इक्वीटी लिङ्कड सेभिङ स्किम अन्तर्गत डेढ लाख रुपैयाँसम्मको लगानीमा कर छुट पाइने व्यवस्था गर्न गृहकार्य गरिरहेका छौँ । यद्यपि नेपालमा हालसम्म म्युचुअल फन्डमा यस्तो प्रत्यक्ष कर लाभ छैन।
तर यो नयाँ फन्डलाई त्यही अवधारणामा तयार पारिएको छ, र भविष्यमा सरकारबाट बीमा वा नागरिक बचत योजनाजस्तै कर सहुलियत प्राप्त हुने सम्भावना छ। यदि यस्तो नीति लागू भयो भने, तलब पाउने कर्मचारी वा अन्य लगानीकर्ताहरूले कर छुट पाउनेछन् । जसले अझै धेरै व्यक्तिलाई म्युचुअल फन्डतर्फ आकर्षित गर्नेछ।
परम्परागत रूपमा, म्युचुअल फन्डहरूले लगानीकर्तालाई छिट्टै लाभांश वितरण गर्थे। तर अब यो फन्डमा रि–इन्भेष्टमेन्टको सुविधा दिइनेछ । जसअनुसार लाभांशको रकम पनि स्वतः फन्डमै पुनः लगानी हुनेछ।
यस्तो व्यवस्थाले चक्रीय प्रभाव (कम्पाउन्डिङ इफेक्ट) सिर्जना गर्छ । जसबाट दीर्घकालीन लगानीकर्ताहरूले समयसँगै बढी लाभ प्राप्त गर्नेछन्। यद्यपि, यदि कुनै लगानीकर्ताले तुरुन्तै लाभांश हातमा लिन चाहनुहुन्छ भने उहाँले त्यस्तो विकल्प पनि रोज्न सक्ने सुविधा छ ।
यो म्युचुअल फन्ड लगानीकर्ताका लागि एकदमै लाभदायक छ । सानो रकमबाट सुरु गर्न सकिने, दीर्घकालीन लाभ दिने, र सम्भावित कर छुटको आधारमा भविष्यमा थप फाइदा प्राप्त गर्न सकिने एक नवीन योजना हो।
यसले सानोतिनो आम्दानी भएका व्यक्तिहरू, वेतनभोगी कर्मचारीहरू, र लगानीमा नयाँ प्रवेश गर्न चाहने सर्वसाधारण सबैलाई लक्षित गर्दछ। साथै, मिनी एसआइपी, इक्क्वीटि एक्स्पोजर, रिइन्भेष्टमेन्ट अप्सन, र करमैत्री डिजाइन जस्ता विशेषताले यसलाई एक समकालीन, व्यावहारिक र लगानीकर्तामैत्री फन्ड बनाउँछ।
यो म्युचुअल फन्डको कुल भोल्युम कति हो ? कहिलेसम्म आवेदन दिन सकिन्छ ? बजारबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
हालको बजार परिदृश्यमा म्युचुअल फन्डप्रति लगानीकर्ताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढेको छ।
अघिल्लो समयसम्म म्युचुअल फन्डको अवधारणालाई आम जनतामा बुझाउन र विश्वास दिलाउन केही चुनौती थियो। वित्तीय साक्षरताको कमीले गर्दा जनतालाई म्युचुअल फन्डको महत्त्व र लाभ बुझाउन कठिन थियो।
तर आजको दिनमा परिस्थिति निकै सकारात्मक ढङ्गले परिवर्तन भइसकेको छ। अहिले विशेष गरी ओपन इण्डेड म्युचुअल फन्डहरूमा लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।
केही समयअघि बजारमा आएको दुई–चार वटा क्लोज इण्डेड फन्डहरू पनि अत्यन्त सफलतापूर्वक विक्री भए । जसले आफूलाई अपर सर्किट नजिकै पुगेर बन्द गरेका थिए। यसले बजारमा म्युचुअल फन्डप्रति सकारात्मक र सशक्त प्रतिक्रिया आएको स्पष्ट सङ्केत गर्छ।
हामीले ल्याउन लागेको नयाँ ओपन इण्डेड इक्विटी म्युचुअल फन्ड साउन २९ गतेदेखि भदौ २ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ। लगानीकर्ताले यसमा मेरो सेयर पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन् भने सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत भौतिक रूपमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै एनआईसी एसिया बैङ्कको ‘मो बैंक’ एप प्रयोग गरेर समेत सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो फन्ड प्रारम्भमा ५० करोड रुपैयाँको एकाइ बिक्री लक्ष्यका साथ सुरु गरिएको छ। यद्यपि, बजार प्रतिक्रिया र आवश्यकता अनुसार यसलाई १ अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ।
यस फन्डमा १५ करोड रुपैयाँको प्रवर्द्धक लगानी एनआईसी एसिया बैंकमार्फत सुनिश्चित गरिएको छ । बाँकी ३५ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताबाट सङ्कलन गर्ने योजना बनाइएको छ।
समग्रमा, बजारको हालको सकारात्मक धारणा, बढ्दो वित्तीय सचेतता, र सहज आवेदन प्रक्रिया सहितको यो योजना नेपाली पुँजी बजारमा लामो समयसम्म मूल्य सिर्जना गर्ने अपेक्षा गरिएको एउटा महत्त्वपूर्ण कदम हो।
अहिले म्चयुअल फन्डप्रति बजारको प्रतिक्रिया त्यति राम्रो छैन । विगतका फन्डहरूको प्रतिफल पनि राम्रो छैन । यस्तोमा नयाँ फन्डमा लगानीकर्ताले किन पैसा हाल्छन् ?
‘म्युचुअल फन्डको प्रतिफल राम्रो छैन’ भन्ने धारणा अहिलेको सन्दर्भमा पुरानो र अप्रासङ्गिक हुँदै गइरहेको छ। यो सोच अब परिवर्तन गर्न आवश्यक छ।
अहिले धेरैजसो फन्डहरूले आफ्नो प्रतिफल औपचारिक रूपमा सार्वजनिक गरिसकेका छन् । यथार्थता तिनले अपेक्षाकृत राम्रो प्रदर्शन गरिरहेका छन्। हामी आफैँले पनि भर्खरै एक फन्ड म्याच्योर गरेर लगानीकर्तालाई रकम वितरण गर्यौँ । जुन फन्डको औसत वार्षिक प्रतिफल लगभग १४.३३ प्रतिशत रह्यो।
यो आँकडा अहिले बजारको प्रमुख सूचक नेप्सेको वार्षिक वृद्धि दरसँग तुलना गर्दा पनि राम्रो प्रदर्शन हो, जहाँ नेप्सेको दर हाल लगभग १३.१४ प्रतिशतको हाराहारीमा छ।
साथै, हालको बजार परिदृश्यमा म्युचुअल फन्डहरूले मुद्दती निक्षेप, ऋणपत्र वा अन्य परम्परागत सम्पत्तिहरूभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यति मात्र होइन, अहिलेका दिनमा खुलामुखी योजनाहरूमा दैनिक रूपमा ४०–५० लाख रुपैयाँ बराबरको लगानी भित्रिनु आफैँमा म्युचुअल फन्डप्रतिको बढ्दो विश्वास र आकर्षणको प्रमाण हो।
आजका म्युचुअल फन्डहरू व्यावसायिक व्यवस्थापन, पारदर्शिता, जोखिम व्यवस्थापन र दीर्घकालीन सम्पत्ति निर्माणमा केन्द्रित छन्। यसैले, लगानीकर्ताले अब पुराना धारणालाई त्यागेर, तथ्यमा आधारित मूल्याङ्कन गर्दै म्युचुअल फन्डमा विश्वास गर्नुपर्ने समय आएको छ।
अहिले प्रायः म्युचुअल फन्डमा संस्थागत लगानीकर्ताको मात्र सक्रियता देखिन्छ । यस्तो अवस्थामा सर्वसाधारणको सहभागिता बढाउन तपाईँहरूले के–कस्ता पहल वा कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ?
पहिलो कुरा, अहिले बजारमा ल्याउन लागिएको योजना ओपन इण्डेड म्युचुअल फन्ड हो। यस्ता फन्डमा लगभग ९० देखि ९५ प्रतिशतसम्मको योगदान व्यक्तिगत लगानीकर्ताबाट हुने गर्दछ। यो प्रवृत्ति अघिल्लो क्लोज इण्डेड योजनासँग स्पष्ट रूपमा फरक छ, जहाँ विशेषतः संस्थागत लगानीकर्ताको उच्च योगदान देखिन्थ्यो र सर्वसाधारणको सहभागिता सीमित मात्रामा हुने गर्थ्यो।
तर ओपन इण्डेड योजनाको आगमनपछि, म्युचुअल फन्डलाई सर्वसाधारणले बैङ्कको बचत खाताको विकल्प वा दीर्घकालीन लगानीको माध्यमका रूपमा लिन थालेका छन्। यस प्रकारको फन्डमा मासिक, त्रैमासिक वा निश्चित आवधिक रूपमा साना–साना रकमबाट सहज रूपमा लगानी गर्न सकिने सुविधाहरू उपलब्ध छन्, जसले गर्दा व्यक्तिगत लगानीकर्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ।
वर्तमानमा सञ्चालनमा रहेका खुलामुखी योजनाहरू हेर्दा पनि, ९०–९५ प्रतिशत लगानी व्यक्तिगत तर्फबाटै आएको स्पष्ट देखिन्छ। खुलामुखी योजनाको कुल बजार आकार हालसम्म १४–१५ अर्ब रुपैयाँ पुगिसकेको छ । देशभरको ६० अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड बजारमा लगभग ३५–४० प्रतिशत हिस्सा खुलामुखी योजना योजनाले ओगटिसकेको छ।
दोस्रो, सर्वसाधारणको पहुँच र सहभागिता अझ बढाउन हामीले हालै बजारमा ल्याएको योजनामा, “मिनी एसआईपी” को अवधारणा प्रस्तुत गरिएको छ । जसले आम मानिसलाई न्यूनतम रकम—जस्तै ५०० वा १००० रुपैयाँदेखि नै लगानी सुरु गर्न सक्ने वातावरण बनाएको छ। यसले विशेष गरी सानो आम्दानी हुने व्यक्तिहरू, विद्यार्थीहरू, वा नियमित सानो बचत गर्न चाहने वर्गहरूलाई लक्षित गरेको छ।
त्यसका साथै, लगानीको लचिलोपनलाई ध्यानमा राख्दै, एसडब्लुपीको सुविधा पनि उपलब्ध गरिएको छ। जसअनुसार लगानीकर्ताले आवश्यकताअनुसार हप्तामा, महिनामा वा वार्षिक रूपमा आंशिक रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
यसबाहेक, सिस्टम्याटिक ट्रान्सफर प्लान (एसटीपी) को व्यवस्था पनि गरिएको छ, जसले बजारको अवस्थाअनुसार रकमलाई एक एसेट क्लासबाट अर्कोमा ट्रान्सफर गर्न सहयोग गर्छ। उदाहरणका लागि, यदि सेयर बजार ओरालो लागिरहेको छ भने लगानीकर्ताले इक्विटी फन्डबाट डेट फन्डमा ट्रान्सफर गर्न सक्छन्, र विपरीत अवस्थाको समयमा डेटबाट इक्विटीमा स्थानान्तरण गर्न सकिन्छ। यसले बजार उतार–चढावमा पनि लगानी सुरक्षित राख्ने लचिलोपन दिन्छ।
यस्तै यस म्युचुअल फन्डले दिने सबैभन्दा ठुला लाभहरूमध्ये डाइभर्सिफिकेशन, कम्पाउन्डिङ र रिटायरमेन्ट प्लानिङ पनि पर्छन्। कसैले प्रत्येक महिना नियमित रूपमा लगानी गरी दीर्घकालीन बलुन अमाउन्ट निर्माण गर्न सक्छ । जसबाट रिटायरमेन्टपछि आवश्यक मासिक रकम एसडब्लुपी मार्फत सहज रूपमा निकाल्न सकिने सुविधा उपलब्ध हुन्छ। यसले म्युचुअल फन्डलाई व्यक्तिगत वित्त व्यवस्थापनको दीर्घकालीन समाधानका रूपमा स्थापित गरिरहेको छ।
त्यसैले म्युचुअल फन्ड अब केवल संस्थागत लगानीकर्ताको मात्र उपकरण नभएर सर्वसाधारणका लागि पनि अत्यन्तै सुलभ, लचिलो र दीर्घकालीन वित्तीय योजना निर्माण गर्ने एक प्रभावकारी माध्यम बनिसकेको छ। यसको प्रचार–प्रसार, सुविधा विस्तार र वित्तीय साक्षरताको अभियानमार्फत आम जनताको सहभागिता झनै तीव्र बनाउने हाम्रो निरन्तर प्रयास जारी छ।
अहिलेको बैंक ब्याजदर घटिरहेको अवस्थामा के म्युचुअल फन्डमा लगानी गर्ने उपयुक्त समय हो?
हालको अवस्था म्युचुअल फन्डमा लगानी गर्नको लागि एकदमै उपयुक्त समय हो। अहिलेको आर्थिक परिदृश्यमा हेर्दा, बैङ्कको ब्याजदर लगातार घट्दो क्रममा छ, र यस्तो समयमा लगानीकर्ताले मुद्दती निक्षेप वा अन्य पारम्परिक बचत माध्यमबाट पर्याप्त प्रतिफल पाउन सक्दैनन्।
त्यसको विपरीत, इक्विटी मार्केट र इन्ट्रेस्ट मार्केटबिच विपरीत सम्बन्ध हुने भएकाले, ब्याजदर घट्दा इक्विटी मार्केटमा सम्भावना र प्रतिफल दुवै बढ्ने प्रवृत्ति देखिन्छ।
यही सन्दर्भमा, हाम्रो विगतमा मच्योर भएका म्युचुअल फन्डहरूको प्रदर्शन हेर्दा, औसतमा १४–१५ प्रतिशतको वार्षिक प्रतिफल आएको छ। यति मात्र होइन, अहिले पनि बजारमा उपलब्ध फन्डहरूले ५ देखि २० प्रतिशतसम्मको प्रतिफल घोषणा गरिरहेका छन् ।
त्यसैले, वर्तमानको जस्तै ब्याजदर घट्दो वातावरणमा म्युचुअल फन्ड एक सुरक्षित, लचिलो र लाभदायक विकल्प हुन सक्छ।
अहिले सेयर बजार उकालो लागेको अवस्थामा छ। यस्तो समयमा म्युचुअल फन्ड ल्याउनु तपाईँहरूका लागि जोखिम होइन?
म्युचुअल फन्ड जब बजारमा ल्याइन्छ, त्यसको सम्पूर्ण लगानी एकै चोटि वा एकै दिनमा हुँदैन। हामीले फन्ड सुरु गरेपछि, पोर्टफोलियो निर्माण एक चरणबद्ध प्रक्रिया हो। यसमा समय लाग्छ, र लगानी क्रमशः गरिँदै जान्छ। त्यसैले बजार केही समय उकालो लाग्दैमा हामीले सबै रकम उच्च मूल्यमा लगानी गर्नुपर्ने बाध्यता हुँदैन।
अर्को कुरा, अहिले हामीले ल्याउन लागेको फन्डको आकार अपेक्षाकृत ठुलो हुने सम्भावना छ, जसका कारण पनि त्यसको इन्भेस्टमेन्ट न्यु कोर्समा लगानी हुन्छ, यसले गर्दा बजारको अस्थायित्वबाट पर्ने प्रभाव न्यूनीकरण गर्न सकिन्छ।
हालको बजार अवस्थालाई हेर्दा पनि जुन अहिले २८०० को आसपासमा नेप्से सूचक रहेको छ, यसलाई हामी पूरै ‘ओभर भ्यालुएटेड’ वा अत्यधिक जोखिमपूर्ण अवस्था भन्न सक्दैनौँ। यदि नेप्से ३१००–३२०० पुगेको अवस्थामा फन्ड ल्याइएको भए, त्यसलाई चाहिँ बढी जोखिमपूर्ण भन्न सकिन्थ्यो।
अहिलेको अवस्था सम्भावना सहितको सन्तुलित स्थिति हो, जहाँ फेज वाइज लगानीमार्फत विवेकपूर्ण पोर्टफोलियो निर्माण गर्न सकिन्छ। त्यसैले, यो समयलाई जोखिमको रूपमा भन्दा पनि योजना अनुसारको अवसरको रूपमा हेर्न सकिन्छ।
तपाईँको बुझाइमा धितोपत्र बोर्डले के–कस्ता नीति ल्याइदिए नेपालमा म्युचुअल फन्डको विकास अझ सहज र सशक्त हुने थियो?
अहिले हामीले सञ्चालन गर्न लागेको ओपन इण्डेड म्युचुअल फन्डमा नियमन अनुसार कम्तीमा १५ प्रतिशत ‘सिड क्यापिटल’ अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ। तर वास्तविकता हेर्दा, लगानी गर्न मिल्ने विकल्पहरू सीमित छन्। प्रायः सेयर बजारमै केन्द्रित रहनुपरेको छ।
सेयर बजारमा पनि ‘किन्ने बेला कमाइ हुन्छ, तर बेच्दा नगन्य फाइदा’ मात्र हुने अवस्था छ । जसले नगद प्रवाहमा समेत असर पु¥याउँछ। यस्तो अवस्थामा विविधिकरण गर्न पाउने क्षेत्रहरू बढाइनु आजको आवश्यकता हो।
यदि भोलिका दिनहरूमा हामीले आफ्नो सिड क्यापिटलको एक हिस्सा अनलिस्टेड कम्पनीहरू, जसरी आजको दिनमा प्राइभेट इक्विटी र भेन्चर क्याटिटल फर्महरूले गर्छन्, त्यसतर्फ लगानी गर्न पाउने सुविधा पायौँ भने, त्यसले अरू परम्परागत एसेट क्लासहरूभन्दा उच्च प्रतिफल दिने सम्भावना धेरै हुन्छ। यस्ता विकल्पहरू खुला भए म्युचुअल फण्डको स्कोप अझै फराकिलो हुने देखिन्छ।
आजको दिनमा म्युचुअल फण्डको कुल मार्केट साइज करिब ५० अर्ब रुपैयाँ पुगेको छ । तर पूँजी बजारको कुल आकार १०० अर्ब रुपैयाँ भन्दा माथि पुगेको अवस्थामा, म्युचुअल फण्डको हिस्सा जम्मा २ प्रतिशत जति मात्रै हो। यस्तो सन्दर्भमा, हाम्रो मूल्याङ्कनमा कम्तीमा ५ देखि १० प्रतिशत सम्मको कभरेज हुनु अत्यावश्यक देखिन्छ।
यसको लागि बजारको विस्तार हुनुका साथै, म्युचुअल फण्डहरूले अनलिस्टेड कम्पनीहरूमा लगानी गर्न पाउने, तथा अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न पाउने अवसरहरू सिर्जना गर्नुपर्छ।
हाम्रो फण्डको प्रोस्पेक्टसमा पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ, यदि भोलिका दिनमा सेबोनले विदेशमा लगानी गर्न अनुमति दिने नियमन ल्याउँछ भने, हामी त्यस्तो अवसर उपयोग गर्न पूर्ण रूपमा तयार हुनेछौं। आज भारत, चीन जस्ता मुलुकहरूमा म्युचुअल फण्डमार्फत पूँजी बजारले जसरी तीव्र गति लिएको छ, नेपालले पनि त्यही बाटो समातेमा लगानीकर्ताहरूलाई दिगो प्रतिफल दिने, सुरक्षित र पारदर्शी माध्यम बन्नेछ।
नेपालमा अब लगानी टुलहरू थपिँदै जानुपर्छ, खासगरी अनलिस्टेड कम्पनीमा लगानी गर्न खुला नीति ल्याउनुपर्छ । म्युचुअल फण्डमा ट्याक्स बेनिफिट दिने व्यवस्था गर्नुपर्छ, र विदेशी बजारमा लगानीको ढोका खोल्नु आवश्यक छ। यस्ता सुधारहरू भएमा म विश्वासका साथ भन्न सक्छु—नेपाली पूँजी बजारको ‘नेक्स्ट मुभमेन्ट’ म्युचुअल फण्डमार्फत नै सुरु हुनेछ।
नेपाली फण्ड म्यानेजरहरूसँग अन्तर्राष्ट्रिय बजारको अध्ययन, विश्लेषण, जोखिम मूल्यांकन र पोर्टफोलियो डाइभर्सिफिकेसन गर्ने ज्ञान, सीप र अनुभव पर्याप्त छ ?
आजको म्युचुअल फन्ड संरचना हेर्दा दुई किसिमले विदेशमा लगानी गर्न सकिने व्यवस्था हुनसक्छ । एउटा प्रत्यक्ष लगानी, दोस्रो फण्ड अफ फण्ड अर्थात्, विदेशी फन्डमै लगानी गर्ने ।
म्युचुअल फन्डलाई डाइरेक्ट स्टकमार्केटमा जानैपर्छ भन्ने बाध्यता छैन। ‘फण्ड अफ फण्ड’ जस्ता संरचनामार्फत पनि सहजै प्रवेश गर्न सकिन्छ । जहाँ जोखिम व्यवस्थापनमा सहजता हुन्छ, र विश्वसनीय अन्तर्राष्ट्रिय फन्डहरूसँग सहकार्य गर्न सकिन्छ।
आजको दिनमा विदेशी बजारमा जानका लागि आवश्यक पर्ने एड्भाइजरी सर्भिस पनि पर्याप्त रूपमा उपलब्ध छन्। अन्तर्राष्ट्रिय फाइनान्समा अनुभव भएका ग्लोबल एड्भाइजरसँग सहकार्य गरेर लगानीका अवसरहरू पहिचान गर्न सकिन्छ। सुरूवातमा सीप विकास र बुझाइका लागि यस्तो संरचना उपयुक्त हुन्छ।
यही ८–१० वर्ष अघिसम्म म्युचुअल फन्डले बजारमा प्रभावकारी ढंगले लगानी गर्न सक्ला र ? भन्ने शंका थियो। तर आज नेपालमा म्युचुअल फन्डहरू सफलतापूर्वक व्यवस्थापन भइ रहेका छन्। त्यसैले विदेशी बजारमा पनि सुरुवाती रूपमा सुरक्षित क्षेत्रहरूमा प्रवेश गरेर, समयक्रममा अनुभव र बुझाइ बढाउँदै जान सकिन्छ।
शंका त सधैँ रहन्छ नै । तर प्रयास नगरी, बजारमा नछिर्दै सफलता सुनिश्चित गर्न सकिन्न। अहिलेको संरचना, सम्भावना र उपलब्ध मार्गहरूले नेपाली फन्ड म्यानेजरहरूलाई अन्तर्राष्ट्रिय बजारमा जान सक्षम बनाइसकेका छन्।
अन्त्यमा, एनआईसी एशिया क्यापिटलले आजदेखि निष्कासन गरेको नयाँ म्युचुअल फन्डमा लगानीकर्ताले किन लगानी गर्ने ?
एनआईसी एशिया क्यापिटल अहिले पाँचवटा म्युचुअल फन्डहरू सफलतापूर्वक सञ्चालन गरिरहेको अनुभवी संस्था हो। हामीसँग यथेष्ठ अनुभव, विशेषज्ञ फण्ड म्यानेजरहरूको टिम र प्रमाणित पृष्ठभूमि छ। हालै मात्र मच्योर भएको एउटा क्लोज–इण्डेड फन्डले औसत १४ प्रतिशतको वार्षिक प्रतिफल दिएको छ, जुन नेपालको वर्तमान वित्तीय बजारमा निकै आकर्षक हो।
यसका अलावा यो नयाँ फन्डमा लगानीकर्ताहरूका लागि विशेष केही कारणहरू छन् ।
विविध र सुरक्षित विकल्प अन्तर्गत हामीसँग कम जोखिम चाहनेदेखि उच्च प्रतिफल चाहने सबैका लागि विभिन्न जोखिम प्रोफाइल अनुसार डिजाइन गरिएका फन्डहरू छन् । यो फन्डले मिनी एसआइपीको सुविधा उपलब्ध गराउँछ ।
यस्तै हामीले तयार पारेको सिस्टमेटिक ट्रान्सफर प्लान (एसटीपी) र सिस्टमेटिक विथड्र प्लान (एसडब्लुपी) जस्ता सुविधाले लगानीकर्तालाई बजारको उतारचढाव अनुसार निर्णय बदल्न मद्दत गर्छ । जसले लगानीको जोखिम व्यवस्थापन गर्छ।
हामीसँग भएको पुरानो अनुभव, पारदर्शी संरचना, सेबोनको नियमन र लगानीकर्ता प्रतिको प्रतिबद्धताले गर्दा हामीप्रति बजारमा विश्वास उच्च छ। यो फन्डले भोलिको बजार परिदृश्यलाई ध्यानमा राखेर साना लगानीकर्तादेखि दीर्घकालीन पुँजी निर्माण गर्न चाहनेसम्म सबैका लागि समाधान दिन खोजेको छ ।
त्यसैले एनआईसी एशिया क्यापिटलको यो फन्ड सुरक्षित, लचिलो र उपयुक्त समयको लागि सटीक विकल्प हो। तपाईं पहिलोपटक लगानी गर्न खोज्दै हुनुहुन्छ वा आफ्नो पोर्टफोलियोलाई विविधिकरण गर्न चाहनु भएको छ भने यो फन्ड तपाईँका लागि आकर्षक, व्यावसायिक र सम्भावनायुक्त छ।
















