नीजि बैंकसँग कडा प्रतिस्पर्धामा सरकारी बैंक, नाफा, ब्याज आम्दानी र ईपिएसमा फड्को, कसकाे अवस्था कस्ताे ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नीजि बैंकसँग कडा प्रतिस्पर्धामा सरकारी बैंक, नाफा, ब्याज आम्दानी र ईपिएसमा फड्को, कसकाे अवस्था कस्ताे ?



काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारी स्वामित्वमा रहेका तीन प्रमुख वाणिज्य बैंकको वित्तिय अवस्था बलियो देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले राम्रो प्रदर्शन गरेका छन् ।

नीजि स्वामित्वका वाणिज्य बैंकहरुसँग प्रतिस्प्रधा गरीरहेका यी बैंकहरुको नाफा, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी जस्ता सूचकमा उल्लेख्य सुधार देखिएको छ । केहि सूचकहरुमा भने यी बैंकहरुले नीजि बैंकहरुलाई नै चुनौति दिएका छन् ।

कस्ता छन् सरकारी स्वामित्वका तीन वाणिज्य बैंकको वित्तिय सूचक ?

गत आर्थिक वर्ष ३ सरकारी बैंक मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ । यस अवधिमा बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो ।

दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यता यस अवधीमा खुद ब्याज आम्दानीको हिसाबले पनि बैंकहरूबीच प्रतिस्पर्धा देखिन्छ । खुद ब्याज आम्दानीका हिसाबले नेपाल बैंक अग्र स्थानमा रहेको छ । समिक्षा अवधिमा नेपाल बैंकले १० अर्ब ८ करोड ७१ लख रुपैयाँ दुद ब्याज आम्दानी गरेको छ ।

वितरणयाेग्य नाफा कसकाे कति ?

यसै गरी दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकरहेको छ । यस अवधिमा बैंकले १० अर्ब ८ कराड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कृषि विकास बैंकले ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस्तै वितरणयोग्य नाफाका हिसाबले हेर्दा कृषि विकास बैंक सबैभन्दा बलियो अवस्थामा छ। यस बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

यता अघिल्लो आर्थिक वर्ष १ अर्ब २२ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक बनेको छ । अघिल्लो आर्थिक वर्ष लाभांश बाड्न नसक्ने अवस्थामा रहेको राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको मुनाफाबाट लाभांश बाड्ने हैसियत बनाएको हो ।

यस्तै अघिल्लो आर्थिक वर्ष ९६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको नेपाल बैंकको वितरण योग्य नाफा यस वर्ष पनि ऋणात्मक नै छ । समिक्षा अवधिमा बैंक ४४ करोड ९० लाख रुपैयाँले ऋणात्मक बनेको हो ।

प्रतिशेयर आम्दानी र खराब कर्जा

समिक्षा अवधिमा तिन सरकारी बैंकको तुलना गर्दा प्रति सेयर आम्दानी (ईपिएस) का हिसाबले पनि कृषि विकास बैंक अग्रस्थानमा छ। समिक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा छ । यस अवधिमा बैंकको खराब कर्जा पनि ३.९१ प्रतिशत बाट घटेर ३.२६ प्रतिशत पुगेको छ ।

यस्तै नेपाल बैंकको प्रतिशेयर आम्दानी ०.१९ रुपैयाँबाट बढेर २५ रुपैयाँ ६८ पैसा पुगेको छ भने खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ ।

१९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कृषि विकास बैंकले समिक्षा अवधिमा २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३१ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको छ । बैंकको जगेडा कोषमा १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्तापूँजी रहेको राष्ट्रिय वाणिज्य बैंकले समिक्षा अवधिमा ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

यस्तै १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको नेपाल बैंकले समिक्षा अवधिमा ३ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ । हाल बैंकको जगेडा कोषमा ३२ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्