उखु किसानलाई ७५ करोडको अनुदान निकासा, रकम पर्सिसम्म बैंक खातामै पुग्ने
काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान बापतको रकम मंगलबार निकासा गरेको छ । अर्थ मन्त्रालयले सो बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलय मार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रीपरिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैया अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । तर, प्राविधिक कारण जनाउदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौ केन्द्रित आन्दोलन गर्दे आएका छन । यसअघि उखु किसानहरुले प्रति क्विन्टल ७० रुपैया प्रोत्साहन स्वरुप पाउदै आएका थिए ।
कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रीपरिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा ३५ रुपैया उपलब्ध गराउने निर्णय भएको थियो ।
यसैवीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि वीच सिहंदरवार स्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उधोग मन्त्रालयका प्रतिनिधि सहभागी छन् । उखु किसानका तर्फवाट श्यामवावु राय लगायत सहभागी छन् ।
यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।













