नेपालबाट बाहिरिने रेमिट्यान्समा अभूतपूर्व वृद्धि, अर्थतन्त्रमा कस्तो असर पर्छ ?
काठमाडौं । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ भन्ने भनाइ केवल चर्चाको विषय होइन । यो एक स्थापित यथार्थ बनिसकेको छ ।
लाखौं नेपालीहरू विदेशमा पसिना बगाएर हरेक वर्ष खरबौं रुपैयाँ नेपाल पठाउँछन् । जसले नेपालको अर्थतन्त्रलाई ठूला संकटहरूमा पनि धान्न विशेष योगदान पुर्याउँदै आएको छ ।
देशमै सिमित रोजगारीका अवसरहरू, कमजोर उत्पादनशील क्षेत्र, निर्यात क्षमतामा अपार सम्भावना हुँदाहुँदै पनि व्यवहारमा सुस्तता र औद्योगिक विस्तारको सुस्त गति लगायतले वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्स नै नेपाली अर्थतन्त्रको मेरुदण्डजस्तै बनिसकेको छ ।
रेमिट्यान्सले देशका शहरी क्षेत्र मात्र नभई ग्रामीण घरहरूमा समेत आर्थिक लय भरेको छ । परिवारको दैनिकी, बालबालिकाको शिक्षादेखि स्वास्थ्य सेवा, आवास निर्माणदेखि बैंकको निक्षेप वृद्धि यी सबै क्षेत्रमा यसको प्रभाव छरिएको छ । बैंकिङ प्रणालीमा जम्मा हुने निक्षेपको ठूलो हिस्सा पनि विदेशी रोजगारबाट कमाइएको पैसाबाटै आउने गरेको छ ।
तर, नेपालको रेमिट्यान्स कथा एकतर्फी मात्र छैन । नेपालबाट पनि हरेक वर्ष ठूलो परिमाणमा रेमिट्यान्स बाहिरिन्छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्षको वार्षिक तथ्यांङ्कले यस्तो देखाएको हो ।
विगत केही वर्षदेखि नेपालबाट पनि उल्लेख्य मात्रामा रेमिट्यान्स बाहिरिन थालेको छ । विशेषगरी ठूला पूर्वाधार आयोजना, जलविद्युत् निर्माण र विदेशी लगानीका कम्पनीहरूमा कार्यरत विदेशी श्रमिकमार्फत अरबौं रुपैयाँ हरेक वर्ष नेपालबाट पनि बाहिरिने गरेको छ ।
राष्ट्र बैंकका अनुसार गत वर्ष मात्रै नेपालबाट ११ अर्ब १७ करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम विदेशी कामदारहरूले आफ्नो मुलुकमा पठाएका छन् । जुन, अघिल्लो वर्षको तुलनामा ८४.३५ प्रतिशत बढी हो । रकम भने हालसम्मकै उच्च हो ।
अघिल्लो वर्ष पनि नेपालबाट ६ अर्ब ६ करोड २ लाख रुपैयाँ रेमिट्यानस बाहिरिएको थियो ।
यता, सोही अवधिमा नेपालले १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्र्याएको छ । यो अघिलो वर्षको तुलनामा १९ प्रतिशत बढी हो ।
यसरी नेपाल अब रेमिट्यान्स लिने मात्र होइन, दिने देश पनि बनेको छ । नेपालबाट मासिक औसत ९३ करोड १० लाख रुपैयाँ रेमिट्यान्स बाहिरिने गरेको राष्ट्र बैंकको आँकडाले देखाउँछ ।
विगत केही वर्षदेखि नेपालमा पूर्वाधार विकास निर्माणका कार्य तीव्र गतिमा अघि बढेका छन् । ठूला निर्माण आयोजनाहरू, जलविद्युत् परियोजनाहरू र विदेशी लगानीमा सञ्चालित उद्योगहरूमा व्यापक रूपमा विदेशी श्रमिकको संलग्नता बढेको छ । यीनै श्रमिकहरूले कमाएको रकम कानुनी माध्यमबाट आफ्नो मुलुकमा पठाउँदा नेपालबाट रेमिट्यान्स बाहिरिने दर ह्वात्तै बढेको हो ।
राष्ट्र बैंकका अनुसार यस्ता श्रमिकहरूले आफ्नो कमाईको ७५ प्रतिशतसम्म रकम स्वदेश पठाउन सक्छन् भने बाँकी २५ प्रतिशत नेपालमै खर्च गर्नुपर्ने कानुनी प्रावधान छ । तर, अझै ठूलो संख्यामा अनौपचारिक रूपमा काम गरिरहेका विदेशी कामदारको कमाइको हिसाब भने यसमा समावेश छैन ।
पछिल्लो ६ अर्बमा साढे ५८ अर्ब बढी रकम नेपालबाट रेमिट्यान्सको रुपमा बाहिरिएको छ । राष्ट्र बैंकको आँकडा अनुसार आर्थिक वर्ष २०७५–७६ पछि मात्रै नेपालबाट ५८ अर्ब ३७ करोड बढी रेमिट्यान्स बाहिरिएको छ ।
अघिल्लो आव २०७९–८० मा ६ अर्ब ६१ करोड २८ लाख, आव २०७८–७९ मा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ विदेशी श्रमिकले आफ्नो मुलुकमा पठाएका थिए ।
यस्तै, आव २०७७–७८ मा ६ अर्ब १ करोड ८५ लाख, आव २०७६–७७ मा ५ अर्ब ४३ करोड ७३ लाख र आव २०७५–७६ मा ६ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट विदेशी कामदारले लगेका छन् ।
नेपालमा विशेषगरी चिनियाँ र भारतीय कामदारहरू जलविद्युत्, सडक निर्माण, सुरुङमार्ग तथा अन्य पूर्वाधार परियोजनामा सक्रिय छन् ।
खुला सिमानाका कारण ठूलो संख्यामा भारतीय मजदुरहरू साना व्यापारदेखि ठूला निर्माण कार्यसम्म सक्रिय छन् । जसले कमाएको रकम सिधै आफ्नो देश लैजाने गरेका छन् । तर, उनीहरूले लैजाने रकम भने राष्ट्र बैंकको रेमिट्यान्स तथ्यांकमा औपचारिक रूपमा नपर्ने भएकाले वास्तविक बाहिरिने रेमिट्यान्स अझै धेरै हुनसक्ने अनुमान गरिएको छ ।
यस्तो प्रवृत्तिले नेपालको विदेशी मुद्रा सञ्चिति, बचत दर तथा रोजगारी बजारमा दीर्घकालीन असर पार्न सक्ने विज्ञहरु बताउँछन् । खुला सिमानाका कारण विशेषगरी भारतीय कामदारको संख्या उल्लेख्य छ । जसको कमाइ सिधै अनौपचारिक रूपमा नेपालबाट बाहिरिन्छ ।
उत्पादनशील क्षेत्रको सुदृढीकरण, स्वदेशी श्रमिकको सीप विकास र विदेशी श्रमिकको पारदर्शी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।













