सहकारी संस्थामा फजुल खर्च रोकिँदै, अब यातायात खर्च र भत्ता दिन नपाइने
काठमाडौं । अब सहकारी संस्थाहरुले फजुल खर्च गर्न नपाउने भएका छन् ।
सहकारी संस्थाहरूले आफ्ना वार्षिक साधारण सभाहरूमा भोजभतेर, अतिथि सत्कार, भत्ता वितरण, यातायात खर्च लगायतका फजुल खर्च गर्न नपाउने भएका हुन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एक निर्देशन जारी गर्दै यस्तो खर्चमा रोक लगाएको हो । बचतकर्ताको हित र सहकारी संस्थामा मितव्ययिता कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्राधिकरणले साधारण सभामा अनावश्यक खर्च कटौती गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ ।
अबदेखि सहकारी संस्थाले सभा उद्घाटन समारोहमा अतिथि स्वागत सत्कार, सहभागीलाई भत्ता वा यातायात खर्च, उपहार वितरण र विशेष भोजको आयोजना गर्न पाउने छैनन् ।
यस्तै, सभा अवधिभर सदस्यहरूलाई सामान्य खाना/खाजा बाहेक अन्य खर्च निषेध गरिएको छ । यसका साथै गैर–सदस्य, कर्मचारी वा पदाधिकारीलाई साधारण सभामा सहभागी गराउन समेत नपाइने उल्लेख छ ।
संस्थाको आम्दानी, खर्च, सदस्य शिक्षाको कार्यक्रम लगायतका विवरण केवल संस्थाका प्रतिनिधि वा सदस्यहरूबीच सीमित गरिनुपर्नेछ । सभा सम्पन्न भएको एक महिनाभित्र संस्थाले आफ्नो प्रतिवेदन प्राधिकरणमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
















