रुसले निशाना बनायो युक्रेनी प्रधानमन्त्रीको कार्यालय, अन्य सरकारी भवन पनि ध्वस्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रुसले निशाना बनायो युक्रेनी प्रधानमन्त्रीको कार्यालय, अन्य सरकारी भवन पनि ध्वस्त



काठमाडौं । रुसले पहिलो पटक युक्रेनको राजधानी कीभस्थित सरकारी भवनलाई निशाना बनाएको छ। आइतबार बिहान उसले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गर्दै रूसले ८१० वटा ड्रोनमार्फत युक्रेनभर आक्रमण गरेको हो।

आक्रमणमा एक बालकसहित कम्तीमा तीन जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। अमेरिकी सञ्‍चार संस्था सिएनएनका अनुसार कीभमा ११ घण्टासम्म हवाई आक्रमणको साइरन बजिरहँदा दर्जनौं आवासीय भवनहरूमा व्यापक क्षति पुगेको छ।

रुसले यसपटक ८१० ड्रोन, ४ वटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रूज मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। तीमध्ये अधिकांश रोकिए पनि ५४ ड्रोन र ९ मिसाइलले विभिन्न लक्ष्यमा क्षति पुर्‍याएको बताइएको छ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोका अनुसार राजधानी कीभको सरकारी क्षेत्रभित्र प्रधानमन्त्रीको कार्यालयसहित केही मन्त्रालयहरू रहेको भवन आक्रमणको चपेटामा परेको हो। “सरकारी भवनको छाना र माथिल्लो तल्लाहरूमा क्षति पुगेको छ। आगलागी नियन्त्रणमा ल्याउन उद्धारकर्मीहरू लागिरहेका छन्,” स्विरिदेन्कोलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले आक्रमणलाई “निर्दयी” भन्दै कडा आलोचना गरेका छन्। उनले क्रेमलिनको यस्तो व्यवहार रोक्न अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट राजनीतिक इच्छाशक्ति देखाउन आह्वान गरेका छन्।

कीभको स्भियातोसिन्स्की जिल्लामा नौ तल्ले एक अपार्टमेन्ट भवनमा आक्रमण हुँदा चार तल्लासम्म क्षति पुगेको मेयर भिताली क्लिच्कोले बताएका छन्। सोही क्षेत्रमा रहेको १६ तल्ले अर्को भवनमा पनि आगलागी भएको छ। त्यसबाहेक अन्य बहुमंजिले भवनहरूमा समेत क्षति पुगेको छ।

रुसी हमलाबाट ओडेसा, ड्निप्रो, क्रेमेन्चुक र क्रिभी रिह जस्ता प्रमुख शहरहरू पनि प्रभावित भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

स्थानीय बासिन्दाहरूले यो आक्रमणलाई युद्धको सुरुदेखि अहिलेसम्मकै सबैभन्दा भयावह बताएका छन्। एक बासिन्दाले भने, “अब त हामी डर भन्दा रिसमा बाँचिरहेका छौं। लगातारको आक्रमणले जनमानसमा गहिरो असर परेको छ।”

यसबीच, युक्रेनी रक्षा मन्त्रालयले ब्रायान्स्क र क्रास्नोदार क्षेत्रमा रहेको दुईवटा रुसी ऊर्जा संरचनामा जवाफी हमला गरेको दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस्