काठमाडौं उपत्यका छिर्ने सबै राजमार्ग अवरूद्ध, यात्रा नगर्न प्रहरीको आग्रह
काठमाडौं उपत्यका छिर्ने सबै राजमार्ग अवरूद्ध, यात्रा नगर्न प्रहरीको आग्रह
काठमाडौं । शनिबार काठमाडौं उपत्यका छिर्ने सबै राजमार्ग अवरूद्ध बनेका छन् ।
लगातारकाे वर्षाले विभिन्न स्थानमा पहिराे खस्दा काठमाडौं उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका १० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन् भने हेटौंडा हुँदै काठमाडौं आउने कान्ति लोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् ।
मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ।













